काठमाडौं । एस्ट्राजेनेका खोप अभियान साउन २५ गतेदेखि सञ्चालन गरिने भएको छ । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतीक्षामा रहेका देशभरका व्यक्तिहरूलाई एस्ट्राजेनेका खोप लगाइने तयारी गरिएको छ ।
कोभिशिल्ड पहिलो मात्रा लगाएका ६५ वर्ष र सोभन्दा माथिकालगायत करिब १४ लाख व्यक्तिहरूलाई सो खोप दिइने जनाइएको छ । उनीहरुले फागुनको तेस्रो साता पहिलो डोज लगाएका थिए । लक्षित समूहका व्यक्तिहरूलाई दोस्रो मात्रा दिई बाँकी रहेको उक्त एस्ट्राजेनिका खोप वैदेशिक रोजगारी, अध्ययन र अरू प्रयोजनका लागि विदेश जाने व्यक्ति तथा मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति, अर्बुद रोगका बिरामीलगायतलाई लगाइने स्वास्थ्य विभाग, परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।
जपानले अनुदानमा दिएको १६ लाख डोज एस्ट्राजेनेका खोप मध्ये शनिबार ५ लाख डोज खोप काठमाडौँ आइपुगेको छ भने आज ३ लाख डोज खोप आउदै छ । बाँकि ८ लाख डोज खोप पनि छिट्टै आउने काठमाडौँस्थित जापानी दुताबासले जानकारी दिएको छ ।




