जाजरकोट । उडानका लागि जहाजको कमी भएको भन्दै रुकुमको चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द छ । लामो समयदेखि विमानस्थल बन्द हुँदा डोल्पा, जाजरकोट, सल्यान र पश्चिम रुकुमका स्थानीयहरु सेवाबाट बञ्चित हुन परेका छन् ।
नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा मात्र जहाज भएकाले उडान कार्य बन्द गरेको बताएको छ ।
गत वर्षको जेठ दोस्रो सातादेखि बन्द रहेको हवाईसेवा हालसम्म सञ्चालनमा नआउँदा यस क्षेत्रका सर्वसाधारण सेवा लिनबाट बञ्चित हुन परेको उनीहरुको भनाई छ ।
साढे चार करोड लागतमा चार वर्ष अघि चौरजहारी विमानस्थल कालोपत्रे गरिएको थियो । उडान बन्द हुँदा डोल्पा, जाजरकोट, सल्यान र पश्चिम रुकुमका स्थानीय यात्रु तथा विरामी समस्यामा परेको स्थानीय गोपाल रेग्मीले बताए ।
विमानस्थलबाट हुने हवाई सेवा बन्द भएपछि सिकिस्त बिरामी र जटिलखालका गर्भवती महिलालाई कच्ची बाटोमा जोखिम मोलेर गाडीमा लैजानुपर्ने बाध्यता रहेको चौरजहारी अस्पतालका प्रशासक डीलवहादुर गिरीले बताए ।
यसअघि चौरजहारीवाट नेपालगञ्ज र काठमाडौँ उडान भर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले सेवा परिवर्तन गरेर प्रत्येक बुधबार काठमाडौँ–नेपालगञ्ज–चौरजहारी र प्रत्येक बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान भर्ने गरेको थियो । रुकुमको सल्ले विमानस्थलमा उडान थप गरेको र चौरजहारीमा १३ महिना अघि उडान कटौती गरेर सेवा बन्द गरेको थियो ।
चौरजहारीमा हवाई सेवा शुरु गर्न विभिन्न निकायमा पहल गरे पनि सुनुवाइ नभएको गुनासो चौरजहारी नगरपालिका नगरप्रमुख विशाल शर्माले बताए । उडान बन्द हुँदा डोल्पाको शे–फोक्सुन्डो जाने पर्यटक समेतलाई समस्या परेको उनको भनाइ छ ।
नेपाल वायुसेवा निगम चौरजहारीका इञ्चार्ज सुरेन्द्र नेपालीले निगमसँग एउटा मात्र जहाज भएकाले समस्या भएको हो थप अर्को जहाज ल्याउने प्रक्रियामा छ । आउने बित्तिकै सेवा आरम्भ हुन्छ ।




