बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक जना बिरामी भागेका छन् । गएको बुधबार कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का बेलावसका ५५ वर्षीया पुरुष आज बिहान अस्पतालबाट भागेको अस्पताल प्रशासनले जनाएको छ । पिसाब फेर्न भनेर शौचालय गएका बिरामी भागेका हुन् ।
‘हिजो साँझ घर जान्छु भन्नु भएको थियो । आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्छु भनेर निस्कनु भएको थियो । भाग्नु भएछ । हामी खोजी गरिरहेका छौं’, अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले भने । डा. थापाले प्रहरीको सहयोगमा खोजी भईरहेको बताए ।
आज बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको बिरामीकी श्रीमतीले बताइन् । उनले भनिन्, ‘हिजो साँझ फोन गर्दा छिटो मलाई लिन आइज भन्नु भएको थियो । यहाँ म बस्न सक्दिन भन्नु भएको थियो । बिहान बिरामीलाई फोन गर्दा फोन उठेन । अस्पतालमा फोन गर्दा तपाईंको बिरामी छैनन् भनेर भने ।’ उनले अस्पतालकै लापरवाहीले गर्दा यस्तो भएको भन्दै आक्रोश पोखिन् ।
प्रतिकृया दिनुहॊस