परियोजनाको पुनरावलोकन समीक्षा तथा प्रारम्भिक परिचयात्मक बैठक
- हिरालाल श्रेष्ठ
सर्लाही । ‘तपाईंहरुले हामीहरुको माग पूरा गरि दिनुभएको छ । हाम्रो समाजमा अझै पनि महिला तथा बालबालिकाहरुमाथि धेरै हिंसा भईरहेको छ । मुस्लिम समुदायमा महिलाहरुलाई दहेजको कारण अझै पनि छोरीहरुलाई पढाउने गरिदैंन । हिजो मात्र मेरो गाँउमा मभन्दा तल्लो कक्षमा पढ्ने बहिनीको विवाह भयो । यसरी कम उमेरमा विवाह गरेपछि हामी महिलाहरुको शरीर कमजोर हुन जान्छ । पाठेघरमा समस्या पैदा हुन्छ । त्यसैले अब तपाईहरुले बाल विवाह रोक्न सहयोग गर्नुपर्छ । महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुमाथि हुने हिंसा रोक्नुपर्छ ।’
यी शब्द कक्षा दशमा अध्ययनरत छात्रा पिंकला शर्माका हुन् । सोमबार राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) र बागमती सेवा समाज नेपालद्वारा पर्सा गाँउपालिकामा सञ्चालन गरिएको बाल स्पोन्सरसिप तथा समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजनाको वार्षिक पुनरावलोकन समीक्षा तथा प्रारम्भिक परिचय बैठकमा सहभागी बाल स्पोन्सर शर्माले बताइन् ।
बैठक पर्सा गाँउपालिका भवनमा सम्पन्न भएको हो । बैठकमा सिकाइ परियाजनका संरक्षण अधिकृत नागेन्द्र प्रसाद साहले आरआरपिकेले जुलाई २०१९ देखि सेप्टेम्वर २०२० सम्म पर्सा गा.पा.मा सञ्चालन गरेको सिकाइ परियोजना सिकाइ परियोजनाको लक्ष्य र उद्देश्य, सिकाई परियोजनाको साथै अभेषा परियोजना, नेपाल कोभर परियोजनाहरुको मुख्य उपलब्धि, चुनौति तथा सिकाइहरु प्रस्तुत गरेका थिए । बैठकमा जुलाई १, २०१९ देखि जुलाई ३०, २०२० सम्म जम्मा कार्यक्रम संचालन खर्च ९९८७६७९।०० भएको जानकारी गराए । बैठकमा सिकाइ परियोजनाबाट पर्सा गा.पा.को लागि आ.व. २०७७-०७८ को जम्मा बजेट रु. ११०४५७२७।६४ विनयोजन गरिएको जानकारी गराइएको थियो ।
बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक कुमार भण्डारीले बाल स्पोन्सरसिप परियोजनाको लक्ष्य र उद्देश्य, मुख्य उपलब्धि, चुनौति तथा सिकाइहरु सहित अक्टोवर २०१९ देखि सेप्टेम्वर २०२० सम्मको जम्मा खर्च रु ८७,४३,३८४।०० भएको जानकारी गराएका थिए । सोही बैठकमा पोषण र उत्थानशिल जिविकोपार्जन परियोजनाको प्राररिम्भक परिचयात्मक बैठक आयोजना गरिएको थियो । कार्यक्रम प्रवन्धक रामकुमार यादवले जिविकोपार्जन परियोजनाको संक्षिप्त परिचय, परियोजनाको कार्यक्षेत्र, उद्देश्य, अपेक्षित परिणामहरु, लाभग्राहीहरु, परियोजनाको मोडेलहरु, र त्यस अन्तर्गत सञ्चालन गरिने कार्यक्रमहरु बारेमा जानकारी गराए । अक्टोवर २०२० देखि २०२१ सम्म सञ्चालन हुने यस कार्यक्रमको जम्मा बजेट विनियोजन रकम १,५८,२८,३१६।०।०० रहेको छ ।
उक्त बैठकमा वल्र्ड भिजन ईन्टरनेशनल नेपालका फिल्ड स्पोन्सरसिप संयोजक सीता चौधरीले पर्सा गाउँपालिकामा अतिजोखिममा परेका बालबालिकाहरुको लेखाजोखाको वडागत नतिजा प्रस्तुत गर्दै दर्ता गर्न छुटेका बालबालिबकाहरुको नाम गाँउपालिकासँग समन्वय गरी छिटोभन्दा छिटो दर्ता गर्न अनुरोध गरिन् ।
बैठकमा उपस्थित सहभागीहरुले खुल्ला छलफलमा परियोजना बारे व्यक्त गरेका जिज्ञाशा तथा गुनासोहरुलाई राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) का कार्यकारी निर्देशक शिवजी प्रसाद साहले प्रत्युत्तर दिएका थिए । उनले विगतका दिनहरुमा भएका कमीकमजोरीहरुलाई सुधार गर्दै लक्षित वर्ग तथा स्थानीय सरोकारवालानिकायहरुबाट प्राप्त सल्लाहसुझावबमोजिम आगामी दिनमा कार्यक्रम कार्यान्वयन गर्ने दुबै संस्थाको तर्फबाट प्रतिवद्धता जनाए ।
गाँउपालिका प्रतिनिधिहरु, गाँउपालिका मातहतका सेवा प्रदायक निकायहरु, विद्यालयका शिक्षक एवं विद्यार्थी प्रतिनिधिको उपस्थितिमा सम्पन्न उक्त बैठकको अध्यक्षता गाँउपालिका अध्यक्ष किसुनदेव राय यादवले गरेका थिए । बैठकमा उपस्थित सहभागीहरुलाई बागमती सेवा समाज नेपालका अध्यक्ष भरतकुमार कार्कीले मन्तव्य सहित स्वागत गरेका थिए भने बैठकमा सहजीकरण आरआरपिकेका उषा कार्कीले गरेकी हुन् ।
बाल स्पोन्सरसिप परियोजना बागमती सेवा समाज नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा तथा सिकाइ परियोजना ह्याण्डीक्याप ईन्टरनेशनल, विश्व शिक्षा नेपाल र आरआरपिकेको संयुक्त साझेदारीमा सञ्चालन हुँदै आएको छ । त्यसैगरी, पोषण र उत्थानशिल जिविकोपार्जन परियोजना वल्र्ड भिजन ईन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन हुन गईरहेको छ ।
- श्रेष्ठ, न्यूज दैनिकको लागि सर्लाहीबाट समाचार लेख्छन् ।




