काठमाडौं । विदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको कोरोनाबाट विदेशमा मृत्यु भएको छ । यो साता जर्मनीमा एक जना र भारतमा एक जना नेपालीको नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको समितिले जनाएको छ ।
स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो ।
हालसम्म नेपालमा मात्र २ लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये २ लाख ३४ हजार ७ सय ५६ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९२ दशमलव ३ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणका कारणले एक हजार ५२९ जनाको ज्यान गएको छ ।




