काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भएर कर्म गर्नेले बुधबार र वेदमा आधारित भएर कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउँछन् ।
दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ । एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् । यसै कारण मंसिर १० गते बुधबारलाई ‘स्मार्तानां एकादशी व्रत’ भनी समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको उनले जानकारी दिए ।
वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् । सूर्योदय हुनुअघिको चार घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष मंसिर ११ गते बिहीबार परेको समितिले जनाएको छ । जसलाई ‘वैष्णवानां एकादशी’ अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ ।
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ ।आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।
तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औसधिको काम गर्दछन् । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरुको उपचारमा तुलसी घरेलु औसधि भएर उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरु नरहने मान्यता पनि छ । हिन्दुहरुको लागि तुलसीको निक्कै महत्व रहने गरेको छ त्यसैले पनि होला प्राय हिन्दुहरुले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् ।
तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वाश रहिआएको छ । ‘भविष्योक्तरा’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि भनेको उल्लेख छ ।
मानव उपयोगी वनस्पति भएकाले यो वनस्पतिलाई भगवान् विष्णु वा उनको प्रिय वस्तुका रूपमा पूजा गरिएको तर्क गर्नेहरू पनि छन्।
प्रतिकृया दिनुहॊस