गम्भीर बिरामी थपिने क्रम निरन्तर

काठमाडौँ ।    ठाउँ–ठाउँमा निषेधाज्ञा र लकडाउन गरिए पनि कोरोनाका गम्भीर बिरामी थपिने क्रम रोकिएको छैन । करिब तीन सातामा आईसीयूमा जाने बिरामीको संख्या तीन गुनाभन्दा धेरै भएको छ । गम्भीर संक्रमित भेटिने क्रम बढेकाले मृत्यु दर अझै बढ्न सक्ने विज्ञहरूले बताएका छन् ।

आईसीयूमा थिए भने मंगलबार १३ जना भेन्टिलेटरमा सहित १ सय ६३ जना आईसीयूमा उपचाररत छन् । १६ साउनमा १ जना भेन्टिलेटरसहित आईसीयूमा २४ जना थिए । ‘आईसीयूमा थपिँदो संख्याले मुलुकमा संक्रमण निरन्तर बढिरहेको संकेत गरेको छ’, फिजिसियन एवं मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले भने, ‘आईसीयूमा ४ सय जनाभन्दा बढी उपचाररत रहँदा मुलुकको स्वास्थ्य प्रणाली नै असफल हुनेतिर जाने सम्भावना रहन्छ ।’

विशेषज्ञका अनुसार लक्षणविहीन र अलिअलि लक्षण भएका कोरोना संक्रमित अस्पतालमा नगई घरमै बसे पनि ती व्यक्तिको स्वास्थ्यमा खासै फरक पर्दैन तर गम्भीर बिरामी अस्पतालमा भर्ना हुनै पर्छ । ‘कोरोनाका मध्यमदेखि गम्भीर हुँदै खतरनाक केसहरू अस्पताल पुग्ने गरेका छन्,’ डा. ओममूर्तिले भने, ‘त्यसैले आईसीयूमा बिरामी बढ्नु समाजमा कोभिडको संक्रमण बढी रहेको संकेत हो । माइल्ड (मधुरो) संक्रमण भएकाहरू उपचार वा परीक्षण गराउन खासै जाँदैनन् ।’

निषेधाज्ञा भएका बेला परीक्षण गराउन जानेहरूको संख्यामा कमी भएर संक्रमण घटेको जस्तो (फल्स लो) हुने सम्भावना हुन्छ । ‘विषम परिस्थितिमा संक्रमणमा कमी देखिनु सुपरफिसियल (सतही) हुन सक्छ । त्यसैले सम्वद्घ निकायले विशेष ध्यान दिनुपर्छ,’ डा. ओममूर्तिले भने ।

स्वास्थ्य मन्त्रालयका इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले आईसीयू र भेन्टिलेटर चाहिने कोरोना संक्रमित बढ्नुले संक्रमणको विस्तार भइरहेकै बुझाउने बताए । ‘अस्पताललाइ थप व्यवस्थित गर्नुपर्छ, आईसीयू भेन्टिलेटरसहितको उपचार चाहिनेहरूको संख्या बढ्न सक्छ,’ उनले भने ।

वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. मधु दीक्षित देवकोटाले कोरोनाका आईसीयूमा उपचार गरिने बिरामीलाई विज्ञहरूको समूह बनाई सेवा दिनुपर्नेमा जोड दिइन् । ‘अहिले आईसीयू बेडको खोजीमा एक अस्पतालबाट अर्कोमा जाँदै गर्दा बिरामीको मृत्यु हुने गरेको देखिन्छ,’ उनले भनिन्, ‘समाजमा बढ्दो संक्रमणको तस्बिर आईसीयूमा भीडभाडले देखाइरहेको छ । हरेक अस्पतालले संक्रमितका लागि २० प्रतिशत आईसीयू बेडसमेत छुट्याउनुपर्छ ।’

विज्ञहरूका अनुसार कोरोनाका ८५ प्रतिशत बिरामीलाई अस्पतालमा भर्ना हुनु पर्दैन, घरमा स्याहार र आइसोलेसन भए पुग्छ । १५ प्रतिशत संक्रमितलाई भने अस्पतालमा भर्ना र अक्सिजन चाहिन सक्छ ।

 

ईकान्तिपुरबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रक क्लाइम्बिङ गर्दा लडेर एक युवाको मृत्यु

काठमाडौं । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस