६०० प्रतिशतसम्म महँगियाे तरकारीको भाउ, सर्वसाधारण मारमा

काठमाडौँ । दैनिक उपभोग्य तरकारीको भाउ महँगो हुँदै गएको छ । राजधानीवासीको मागअनुसार तरकारी आपूर्ति हुन नसकेका कारण तरकारीकाे भाउ महँगो भएको हो ।  जसले गर्दा सर्वसाधारण उपभोक्ताले तरकारी कम उपभोग गर्ने मात्रै होइन तरकारी विकल्पमा गेडागुडी बढी उपभोग गर्न थालेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर क्षेत्रीले यो बेलामा बर्खे तरकारी सिजन सकिएको र हिउँदे तरकारी जति आउनुपथ्र्यो त्यति मात्रामा आउन नसक्दा महँगो भएको बताए । उनले भने, यस वर्ष गत वर्षभन्दा तरकारी महँगो हुनुको कारण दुईवटा हुन सक्छन्, एउटा भारतबाट आउने तरकारीमा विषादी परीक्षण कडा गरिनु र अर्को हिँदे तरकारी उत्पादनमा मौसमले साथ नदिएर ढिला गरी उत्पादन सुरु हुनु हो, विस्तारै मौसमी तरकारी आउन थालेपछि मङ्सिरमै घट्दै जान्छ ।

काउली, बन्दा, मूलालगायतका तरकारीको
सिजन सुरु हुँदासमेत माग अनुसार आपूर्ति हुन नसक्दा भाउ महँगो भएको बताए । गत वर्ष यही बेलामा प्रतिकेजी २५ रुपियाँ खुद्रा भाउमा किनबेच भएको स्थानीय काउली अहिले प्रतिकेजी केजी १५० रुपियाँमा किनबेच भइरहेको छ ।

बिचौलियाका कारण महँगो
यता उपभोक्ता अधिकारकर्मीले उत्पादन किसानको खेतदेखि उपभोक्ताको भान्सामा पुग्दा बीचमा चार-पाँच लेयर पार गर्दै आउने र बीचमा बिचौलिया व्यापारीको धेरै चलखेलका कारण भाउ महँगो हुने गरेको बताए। उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना तरकारी बजारको प्रभावकारी अनुगमन हुन नसक्नु र बजारमा तरकारी बिचौलियाकै हावी भएका कारण तरकारी महँगो भएको बताए।

एक-दुई दिनभित्रै अनुगमन हुने
बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका बजार निरीक्षक अधिकृत दीपक पोखरेलले प्याजलगायत तरकारी महँगो भएको भनेर गुनासो आएकाले सोमबार नै विभागको टोलीले कालीमाटी थोक बजारमा अनुगमन गरेको जानकारी दिए। उनले तरकारीको अनुगमन आवश्यक तयारी गरेरै बिहानै गर्नुपर्ने भएकाले गुनासो आउने बित्तिकै तरकारीको अनुगमन गर्न नसकेको स्वीकार गर्दै एक÷दुई दिनमै पुनः अनुगमन हुने पनि जानकारी दिए ।

मागको आधा मात्रै आपूर्ति
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा अरू बेलामा यस बजारमा दैनिक झण्डै ११ सय टनको हारहारीमा तरकारी भित्रिने गरेकोमा अहिले दैनिक ६०० देखि ६५० टनको हारहारीमा मात्रै तरकारी भित्रिएको छ । उपत्यकावासीको मागको तुलनामा झण्डै ४५ देखि ४७ प्रतिशत कम तरकारी आयात हुनुले मूल्यमा दबाब परेको र समितिले जनाएको छ ।

गत वर्षको तुलनामा यो वर्ष सयौ गुणा मूल्यवृद्धि
समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष मङ्सिरको पहिलो साता र यो वर्ष मङ्सिरको पहिलो साता तुलना गर्दा कुनै कुनै वस्तुमा ६०० प्रतिशतसम्म महँगिएको छ । कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा मागको आधा मात्रै तरकारी आपूर्ति भएका कारण भाउ महँगो भएको बताए। तरकारीको आपूर्ति विस्तारै बढ्न थालेको र क्रमशः मूल्य घट्ने सङ्केत देखिएको उनको दाबी छ । समितिका अनुसार कालीमाटीमा आएको तरकारीले उपत्यकावासीको मागको ७५ प्रतिशत माग धान्ने गरेको छ, अन्य माग बल्खु, कोटेश्वर, बालाजुलगायतका साना बजारले धान्ने गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस