क्यामेरा बोकेरै हिंड्ने दिन आउँछ जस्तो छ

अनिल केशरी शाह नामी बैंकर हुन् । शाहलाई सेलिब्रेटी बैंकर भन्दा पनि फरक पर्दैन । अमेरिकाको सुप्रशिद्ध विश्वविद्यालयबाट डिग्री लिएका शाहले हाल नवील बैंकको सिईओको जिम्मेवारी सम्हालिरहेका छन् । उनकी आमा बिन्देश्वरी शाह नेपालको पहिलो महिला राजदूत हुन् भने बुवा नारायण केशरी शाह चर्चित डाक्टर थिए । पारीवारिक माहौल फरक प्रकारको हुँदाहुँदै पनि अन्तत शाहले बैंकिङ क्षेत्रलाई नै रोजे ।

बैकिङ क्षेत्रमा लामो विताईसकेकाले फेरी सिईओको जिम्मेवारी निर्वाह नगर्ने सोच राखेको वताउँदै उनीले देशको राजनैतिक अवस्था स्थीर र राम्रो भयो भने राजनीतिमा होईन, फोटोग्राफीमा अगाडि बढ्ने ईच्छा व्यक्त गरे । नेपालको जात्राहरुको जानकारी दिने उदेश्यको किताब प्रकाशन गर्ने भित्री चाहना रहेको पनि हामीसङ्गकाे कुराकानीमा उनले खुलाए ।

अहिलेको अवस्था नियाल्दा देशमा सकारात्मक राजनैतिक परिवर्तन आउने आशा पलाएको पनि धारणा राखे । उनी भन्छन्, “देशमा धेरै उथलपुथल भयो भने नेतृत्व लिनसक्ने क्षमता भएकाहरु राजनीतिमा आउनुपर्छ । तर अहिलेको अवस्था हेर्दा भने म राजनीतिक क्षेत्रमा होईन, क्यामेरा बोकेरै हिंड्ने दिन आउँछ जस्तो छ ।”

अनिल केशरी शाह

अमेरिकामा बीबीएको अध्ययन सकेर नेपाल आएपछि नाईन ट्रेन टु काठमाडौं भन्ने सिनेमा बन्यो । यो प्यारामाउण्ट पिक्चर्सको हलिउड सिनेमामा अनिल शाहले सहायक निर्देशककोरुपमा काम गरे । सहायक निर्देशकको रुपमा काम त गरे तर उनको चलचित्रको यात्रा यो भन्दा अगाडि बढेन । बैंकिङ क्षेत्रलाईनै उर्वर बनाउन आफ्नो क्षमता र दक्षता खर्चिदैं नेपालकै चर्चित र सबैभन्दा धेरै तलव बुझ्ने सिईओकोरुपमा प्रख्यात भए ।

तपाईलाई चलचित्रमा नायकको लागि अफर आएन ? भनेर प्रश्न सोध्दा, ’हिरोको अफर आएन तर दृष्टिबिहीन एकजना बहिनी सृष्टि केसी हुनुहुन्छ । १६ वर्षको उमेरमा डाक्टरले गलत औषधी चलाएपछि उहाँको आँखाको ज्योति गुमेको रहेछ । बहिनीसँग मेरो भेट भयो । मेरो एउटा ‘म मुभमेन्ट’ छ । यसले युवाहरुलाई प्रोत्साहन गर्नुका साथै सकारात्मक सोच भएका युवाहरुलाई अगाडि बढाउने काम गर्छ । यसैक्रममा सृष्टि केसीसँग भेट भएपछि उनकै जीवनमा आधारित रहेर चलचित्र बन्यो । सिनेमाका निर्माता र बहिनीको अनुरोधमा ‘ब्लाइण्ड रक्स’ नामको सिनेमामा न्यारेटिभ गरेको थिएँ ।” शाहले वताए ।

उनी अगाडि थप्छन्, “मेरो रुची भनेको कसरी हुन्छ नेपाली चलचित्र, गीत अथवा संस्कृतिलाई सम्बर्द्धन गर्ने हो । नेपालीपना झल्किने भनेको अनिल शाहले कति कमाउँछ ? नेपालमा कति धनी मानिस छन् भनेर होईन, हाम्रा गीत, चलचित्र, पेन्टिङलगायतको अवस्था कस्तो छ ? यी सबैमा हाम्रो संस्कृति झल्किनुपर्छ । छोरीमान्छे घरभित्रै घुम्टो ओढेर बस्नुपर्छ भन्ने सोच भएको व्यक्ति होईन ।

म इभोलुसन चाहने मान्छे हो । हामी आधुनिक बन्नुपर्छ । समय परिस्थितिलाई आत्मसात गर्न सक्नुपर्छ तर हाम्रो राम्रो कुरालाई छोड्नुहुँदैन । हामी मान्यजन, बुवाआमा र गुरुका अगाडि शीर झुकाउँछौं र आदर गर्छौं । मन्दिरको नजिकैबाट जाँदा निहुरिन्छौं । यहि हो हाम्रो पहिचान । यहि हो हाम्रो सभ्यता । यसको जगेर्ना गर्नुपर्छ ।”

प्रस्तुत छ, मेगा र नवील बैंकमा सिईओको जिम्मेवारी पूरा गरिसकेका, बैंकरको भीडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल, युवाहरुका प्रेरणाका श्रोत, चर्चित ब्यक्तित्व अनिल केशरी शाहसँग सफलताका सुत्र, बैंकिङ क्षेत्रमा युवाको आकर्षण लगायतका रोचक पाटोहरुसँग सम्बन्धित रहेर सम्पादक कल्पना शर्माले गरेको कुराकानी ।

मौद्रिक नीति कस्तो लाग्यो ?

मौद्रिक नीति आउनुभन्दा अगाडि सबैको ध्यान मर्जरमा थियो । तर अहिले खासै चर्चा भएको छैन । मौद्रिक नीति भनेको देशको अर्थतन्त्रलाई कसरी स्थिर बनाउन सकिन्छ भन्ने नीति हो । बजेटले अर्थतन्त्रको बृद्धिलाई केन्द्रित गर्छ भने मौद्रित नीतिले अर्थतन्त्रको स्थिरतालाई केन्द्रित गर्छ । अहिले मर्जरमा जान चाहनेलाई धेरै फाईदा पनि देखिन्छ ।

मर्ज भईसकेपछि जहाँपनि शाखा खोल्न सकिन्छ । राष्ट्र बैंकको मौद्रिक नीतिका अनुसार अब हामीले कति पसिना बगाउँछौं ? कति मेहनत गर्छौं ? बैैकलाई कति अगाडि लिएर जान्छौं ? त्यो हामीमा भरपर्ने कुरा हो । राष्ट्र बैंकले नै नाफा कमाएर देओस् भन्ने सोच हामीले राख्नुहुँदैन । बित्तीय संस्था आफ्नो समूहले सञ्चालन गर्ने हो ।

मैले नवील बैंकको नुन खाएको छु । मेरो जिम्मेवारी भनेको यो बैंकलाई कसरी राम्रो बनाउने भन्ने हो ।

बैंकको काम भनेको बैंकलाई मात्रै होईन डिपोजिटरलाई पनि खुसी पार्ने हो । यसपाली गर्भनरले ल्याउनुभएको मौद्रिक नीति राम्रो लाग्यो । म खुसी छु ।

बैकिङ क्षेत्रमा युवाहरुको आकर्षण किन बढी छ ?

कुनै जात, वर्ग, धर्म र राजनीतिक आस्थाका आधारमा बैंकिङ क्षेत्रमा काम गर्न चाहने युवाहरु आजको दिनमा हामीकहाँ आउँदैनन् । आफ्नो क्षमता र योग्यता अनुसार नै यो क्षेत्रमा काम पाईन्छ । अहिले चाकडी गर्ने, मान्छेको घरघरमा माछा र फलफूल पुर्याएर काम पाउँछु भन्ने सोच भएका युवाहरु मैले खासै भेटेको छैन ।

एमबीए, बीबीए गरेकाहरु र आफ्नो क्षमता र दक्षताले अगाडि बढ्छु भन्ने युवाहरुका लागि बैंकिङ क्षेत्र राम्रो छ । त्यो क्षेत्र त्यतिबेला राम्रो हुन्छ, जव जनशक्ति राम्रो हुन्छ ।

सँधै सिईओ हुने कुरो पनि आएन, भविष्यमा के गर्ने सोच छ ?

नंवर वान बैंक नवीलको २ पटक सिईओ भईसकेको छु । यो कार्यकालपछि बैंकमा त बस्दिन होला । देशमा स्थीर राजनैतिक अवस्था कायम भयो भनेदेखि राजनीतिमा होईन म फोटोग्राफीमा लाग्छु ।

नेपालको जात्राहरुसँग सम्बन्धित रहेर एउटा किताब निकाल्ने चाहना भएकाले पनि मेरो लक्ष्य फोटोग्राफी हो । अब राजनीतिमा संकट आयो भने साईडमा बसेर मात्रै केहि हुँदैन । राजनीति गलत बाटोमा हिंड्दैन भन्ने विश्वास छ र मेरो क्यामेरा बोकेरै हिंड्ने दिन आउला जस्तो लागेको छ । देशको राजनीति प्रतिकूल भएको खण्डमा राजनीतिमा आउने परिस्थिति निर्माण हुनपनि सक्छ ।

सफलताका सूत्रहरु केके हुन् ?

मेरो अनुभवमा हामी सबैको लक्ष्य एउटै हो । जे गरेपनि अन्तिममा चाहने खुसी नै हो । खुसी हुनका लागि पाँचवटा तत्व चाहिन्छ । पाँचवटा तत्वमध्ये कुन मात्रामा कति चाहिन्छ ? त्यो भने ब्यक्तिपिच्छे फरक फरक  हुन्छ । यसको सबैभन्दा पहिले पहिचान गर्नुपर्छ ।

मेरो विचारमा पहिलो परिवार र साथीभाई, दोस्रो पैसा, तेस्रो स्वास्थ्य, चौथों पावर र स्टाटस र पाँचौं ग्रेटर गुड (समाज र राष्ट्रलाई राम्रो गरौं भन्ने) तत्वहरु नै प्रमुख हुन् । तपाईलाई यसको कति मात्रा चाहिन्छ ? कतिलाई पैसै भए पुग्छ । पैसा मात्रै चाहनेले समाजसेवामा लाग्नुहुँदैन । यसबाट खुसी र सफलता पनि मिल्दैन । पैसाको महत्व नहुनेले बैंक र व्यापारको क्षेत्रमा लागेर काम छैन ।

परिवार र साथीभाईसँग समय विताउन मनलाग्छ भने पत्रकारितामा नलाग्नुस् । तपाई नामी पत्रकार बन्नुहोला तर परिवार र साथीभाईलाई समय दिन सक्ने अवस्था हुदैन । आफूले गर्ने के हो र खुसी केमा प्राप्त हुन्छ, त्यतातिर ध्यान दिनुस् र त्यहि काम गर्नुस् । अनि आफुलाई नियालेर हेर्नुहोस्, तपाई कति खुसी हुनुहुन्छ ? यहि खुसी नै सफलता हो ।

यदि आफूले गरेको जुनसुकै कामबाट तपाई खुसी हुनु भएन भने सफल हुनसक्नुहुन्न । आफूले चाहेको कामबाट नै खुसी मिल्छ र सफलता पनि त्यहि खुसीबाट नै प्राप्त हुन्छ ।

अहिलेसम्म पनि फिट हुनुहुन्छ, कसरी मेन्टेन गर्नुहुन्छ ?

स्वाथ्य भनेको सबैभन्दा महत्वपूर्ण पक्ष हो । धेरैलाई आफू अस्वस्थ भईसकेपछि मात्रै स्वस्थ हुनुको महत्व थाहा हुन्छ । जब हामी हस्पिटलको बेडमा हुन्छौं त्यो बेला मिटिङ, ब्यापार, जागीर वा अन्य कुनैपनि महत्वपूर्ण काम गर्न सक्दैनौं ।

कसरी चाँडो निको हुने भन्नेमा ध्यान जान्छ । त्यसैले स्वस्थ बनौं । शारीरिकरुपमा मात्रै स्वस्थ भएर पुग्दैन । मानसिक, संवेगात्मक लगायत हरेक हिसावले स्वस्थ हुनुपर्छ । म अमेरिकामा भएको भएको भए मनोबैज्ञानिककहाँ जान्थें होला तर नेपालमा भगवानकहाँ जान्छु । यसका साथै आफूलाई स्वस्थ राख्नका लागि दिनहुँ व्यायाम गर्छु ।

सन्तुलित आहार खान्छु । रक्सी, चुरोट खाँदिन तथापि चुरोट वा रक्सी खानेलाई नराम्रो भन्दिन । कसैलाई यो गर वा त्यो गर भन्ने मेरो अधिकार पनि छैन । मेरो छोरीलाई पनि नगर भन्ने अधिकार राख्दिन तर राम्रो/नराम्रो बारे सम्झाउँछु ।

मेरो प्राथमिकता भनेको स्वस्थ भएर परिवार, आफन्त, साथीभाई सबैसँग राम्रो ब्यवहार गर्ने हो । स्वास्थ्य छैन त केहि छैन । स्वस्थ जीवन बाँचिरहेकाले पनि फिट देखिएको होला ।

मासिक टन्नै आम्दानी गर्नुहुन्छ, के मा खर्च हुन्छ ?

श्रीमती, छोरी र मैले मुख्यतया २ चिजमा खर्च गर्छौं । सबैभन्दा पहिले छोरीको शिक्षामा धेरै पैसा खर्च हुन्छ । उनी अहिले अमेरिकामा अध्ययन गर्दैछिन् । नेपालमा पनि मैले शिक्षामा राम्रो लगानी गरें । मैले कमाउँछु भन्दा मलाई अप्ठेरो लाग्दैन । सरकारलाई पारदर्शीरुपमा कर तिर्छु ।

दोस्रो हामी घुमफिरमा धेरै पैसा खर्च गर्छौ । हामी सम्झनाहरु संगाल्छौं । देशविदेश घुम्छौं । मेरो छोरीलाई यति तोला सुन, यति आना जग्गा किनेर राखिदिएको छु भनेर म भन्दिन । आज म बुवामुवाले दिएको जग्गामा मात्रै बसिराखेको भए तपाई अन्तरर्वार्ता लिन आउनुहुन्थेन । व्यक्तिको पहिचान उसको काम र मेहनतले हुन्छ ।

म भन्दा लाखौं लाख धेरै कमाउने नेपालीहरु छन् । अनिल शाहले धेरै कमाउँछ भनेर मेरो वरीपरी मानिसहरु आउने होईनन् । मैले गर्ने भन्दा कयौं गुण आम्दानी गर्नेहरु नेपालमा छन् ।

फूर्सदमा के गर्नुहुन्छ ?

मसँग फूर्सदको समय खासै हुँदैन । समय भयो भने मेरो समय फोटोग्राफीमैं जान्छ । यससँगै परिवारसँग घुमफिर गर्न रुचाउँछु ।

बैंकर सेलिब्रेटीको पहिचान बनाउनुभएको छ, कस्तो अनुभव हुन्छ ?

३० वर्ष बैकिङ क्षेत्रमा काम गरें । अहिले युवाहरुसँग भिजेर काम गरिरहेको छु । यहाँहरुले मिडियाको आँखामा परिरहने ब्यक्तिकोरुपमा लिनुहुन्छ । यसरी आफ्नो पहिचान बनाउन सकेकोमा खुसी लाग्छ ।

सेलिब्रटीको प्रसंग कोट्याउँदा बिवाह, पार्टीहरुमा समावेश भएको समयमा चर्चित ब्यक्तित्वहरुले सेल्फी खिचौं भन्नुहुन्छ, मलाई आनन्द लाग्छ । सबैभन्दा खुसी त त्यो पार्टीमा सर्भ गर्ने भाईबैनीहरुले सँगै फोटो खिचौं भन्नुहुन्छ त्यतिवेला सबैभन्दा धेरै आनन्द लाग्छ ।

मेरो बुवामुआप्रति मलाई असाध्यै गर्व छ तर म हो हुँ भनेर यसले खासै अर्थ राख्दैन । म यहाँ कसैको सन्तान भएर नवील बैंकको सिइओको जिम्मेवारी पाएको होईन । यस धर्तीमा हामी सबैले आफ्नो सीमित समय लिएर आएका हुन्छौं । भोली म नहुँदा पनि नेपालीले मलाई याद गरुन् भन्ने चाहना हो मेरो ।

नारायण गोपालका गीतहरु म सुन्छु । मेरो छोरीले सुन्छे र उसको छोरीले पनि सुन्छे होला । त्यो बेलाको सबैभन्दा धनी मान्छे को थियो भन्ने कसैलाई मतलव छैन । तर नारायण गोपालका सिर्जना कहिल्यै मर्दैनन् । युगौंयुगसम्म बाँचिरहन्छन् । म सेलिब्रटी हुन्छु भनेर भएको होईन । काम गर्दागर्दै सबैले मायाँ देखाउनुभएको हो । यसरी सेलिब्रेटीका रुपमा अगाडि आउन पाउँदा खुसी लाग्छ ।

कस्ता खाले किताब पढ्न रुचाउनुहुन्छ ?

समय भयो भने किताब पढ्न मनपराउँछु । मलाई लिडरसिप, सेल्फ हेल्पसँग सम्बन्धित किताब धेरैजसाे पढ्न मनलाग्छ ।

परिवार के हो ?

परिवार भनेको साझेदारी हो । यो जुनसुकै सम्बन्धमा पनि लागु हुन्छ । जस्तै श्रीमान्— श्रीमती, सासू— ससूरा लगायत सबैसँग एकअर्कावीच साझेदारी हुन्छ । कहिलेकाहिं कुनै परिवार धरापमा परेको हामीले देखिरहेका हुन्छौं । एउटाले सँधै दिईमात्रै राख्ने र अर्काले लिईमात्रै राख्ने परिस्थितिमात्रै भयो भने परिवारवीचको साझेदारीमा समस्या उत्पन्न हुन्छ ।

अर्को भनेको परिवार शक्तिको श्रोत हो । परिवारमा यदि तनाव छ भने त्यसले हाम्रो काममा पनि समस्या उत्पन्न गरिरहेको हुन्छ । हरेकको जीवनमा जति पनि परिवारबाट सहयोग प्राप्त हुन्छ, त्यो अरुबाट हुँदैन । परिवार जत्तिको नजिकको र असली शुभचिन्तक यो दुनियाँमा अरु कोही हुँदैन ।

अन्त्यमा के भन्नुहुन्छ ?

मेरो मुवा नेपालको पहिलो महिला राजदूत हुनुहुन्छ । मेरो एउटै सन्तान छोरी छ । म के चाहन्छु भने ५० प्रतिशत भन्दा बढी महिलाको जनसंख्या रहेको हाम्रो देशमा कुनैपनि क्षेत्रमा महिला अगाडि आउनुपर्छ ।

संसारका धेरैजसो मुलुकमा घर, कार्यालय लगायत हलो जोत्नेसम्ममा महिलानै संलग्न छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाहरुको उल्लेख्य सहभागिता छ । अब हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा महिला आउनुपर्छ ।

बैंकमा पनि कर्मचारीका रुपमा महिलाको संख्या धेरै छ । अब नेतृत्वमा आउनुपर्छ । मेगा बैंकमा पहिलो महिला सिईओ अनुपमा खुञ्जेलीले नेतृत्व गरिरहनुभएको छ । उहाँ महिला भएकोले सिईओ भएको होईन की भरपूर क्षमता भएर हो । लाखौं क्षमतावान् छोरीहरुले अब हरेक क्षेत्रमा नेतृत्व गर्नुपर्छ । मेरो चाहना मेरी छोरीले पनि नेतृत्व गर्ने वातावरण पाओस् भन्ने छ । कसैले पनि महिला भएकाले काम गर्न सक्दैन भन्ने सोचसम्म पनि नराखोस् ।

फाेटाेग्राफी

रश्मी महत

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस