काठमाडौं । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा राष्ट्रपति रिसेप तैयप एर्दोगानको सत्तारुढ दल एके पार्टीले हार बेहोरेको छ । मेयरका लागि भएको निर्वाचनमा मुख्य विपक्षी दलका उम्मेदवार एक्रिम एमामोलुले बहुमत ल्याएका छन् ।
अधिकांश मतगणना सकिँदासम्म उनले ५४ प्रतिशत मत ल्याएका छन् । राष्ट्रपति एर्दोगानको जनमत संग्रहका रुपमा लिइएको मेयरको निर्वाचनमा उनको पार्टीका उम्मेदवार पूर्वप्रधानमन्त्री बिनाली यिल्दिरिमले हार स्विकार गरेका छन् ।
राष्ट्रपति एर्दोआनले पनि विजेतालाई बधाई दिएका छन् । विपक्षी उम्मेदवार एक्रिमले यसअघि गत मार्चमा भएको निर्वाचनमा आश्चर्यजनक जित हासिल गरेपछि सत्तारुढ एके पार्टीले अनियमितताको आरोप लगाएपछि त्यसलाई रद्द गरिएको थियो ।
मार्चमा भएको निर्वाचनमा उनले १३ हजार मतअन्तरले जित हात पार्नुभएको थियो । तर अहिले भएको निर्वाचनमा उहाँले ७ लाख ७५ हजारभन्दा बढी मतले अग्रता बताएका हुन । यो नतिजाले राष्ट्रपति एर्दोआनका लागि ठूलो धक्काको रूपमा हेरिएको छ । आफू विजयी भएपछि एमामोलुले चुनावी नतिजालाई टर्कीमा नयाँ सुरुवातको संज्ञा दिएका छन् ।
उनले आफूले इस्तानबुलका लागि नयाँ अध्याय सुरु गर्ने र त्यसमा समान र प्रेम हुने उल्लेख गरेका छन् । एक्रिम एमामोलुले आफू राष्ट्रपति एर्दोआनसँगको समन्वयमा काम गर्न तयार भएकोसमेत बताएका छन् । (एजेन्सी)
प्रतिकृया दिनुहॊस