काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही इन्चार्ज कुमार पौडेल जवाफी कारवाहीमा मारिएको बताएका छन् ।
प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा पौडेलको ज्यान गएको गृहमन्त्री थापाले बताएका छन् । संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा मन्त्री थापाले बाहिर आएजस्तो पौडेलको मृत्यु ‘इन्काउटर’ मा नभएको भन्दै प्रहरीको बचाउ गरे ।
असार ५ गते दिउँसो लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम तर्फ रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोली लागेर पौडेलको मृत्यु भएको थियो ।
राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले दुईवटा मोटरसाइकलमा आएका चार व्यक्तिले प्रहरीमाथि गोली चलाएकाले आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताए । पौडेलको घटनास्थलमै ज्यान गएको हो । अरु तीनजना भागेको र त्यसमध्ये एकजनालाई गोली लागेको मन्त्री थापाले बताएका छन् । फरारको खोजी भइरहेको उनले बताए ।
विप्लव नेतृत्वको नेकपाले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्की दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाले बताए । सोही कारण प्रहरीले निगरानी बढाएको मन्त्री थापाले बताएका छन् ।
सरकारले पौडेल मुठभेडमा मारिएको बताउँदै आए पनि सत्तारुढ दलकै सांसदहरुले त्यसको सत्यतामा शंका गर्दै आएका छन् । आइतबारको राज्यव्यवस्था समितिको बैठकमा नेकपाका सांसद जनार्दन शर्माले मृतक पौडेलको हात भाँचिएर छियाछिया भएको आफूले सुनेको भन्दै सत्य तथ्य जानकारी गृहमन्त्रीबाट लिनुपर्ने बताएका थिए । मानव अधिकार आयोगले पनि पौडेलको मृत्युबारे छानविन गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहॊस