२ लाखसम्मको भुक्तानी हामी ठाउँको ठाउँ नै गर्छौं : कुमार बहादुर खत्री

कुमार बहादुर खत्री,सिईओ, अजोड इन्स्योरेन्स लिमिटेड

अजोड इन्स्योरेन्सको वित्तीय अवस्थाका बारेमा जानकारी दिनुहोस् न ?

अजोड इन्स्योरेन्स नयाँ कम्पनी हो । हाल संस्थापक सदस्यहरुबाट रु ७० करोड पुँजी पेडअप भएको छ । कम्पनीको लगानी करिब रु ८१ करोड पुगेको छ । निकट भविष्यमा रु ३० करोड पब्लिकका लागि आईपिओमा जान्छ । बजारमा नयाँ कम्पनी भएतापनि सरसर्ती हेर्दा ९ महिनाको अवधिमा भएको कामलाई सन्तोषजनक नै मान्नुपर्छ । १ वर्षपनि नपुग्दै कम्पनीलाई मूल्यांकन गर्न त्यति उपयुक्त हुदैन । तरपनि हामीले गरेको काम उत्साहजनक नै छ ।

बीमा सेवालाई प्रभावकारी बनाउन अजोड इन्स्योरेन्सका रणनीतिहरु के के छन् ?

बीमा कम्पनीले सेवा बेच्ने हो । बीमा सेवामा प्रतिबद्दता बेचेर बीमा शुल्क लिने हो । यसप्रति आम मानिसको विश्वास जगाउन बिक्री पछिको सेवालाई विशेषरुपमा ध्यान दिनुपर्छ । बीमा कम्पनीको विश्वसनीयता दाबी भुक्तानीको प्रक्रियामा निर्भर हुनेगर्छ । घटना भईसकेपछि पीडितलाई जतिसक्दो छिटो छरितो तवरबाट भुक्तानी दिन तत्पर रहनुपर्छ । अजोडले ’फास्ट ट्रयाक’ दाबी भुक्तानी भनेर रु २ लाखसम्मको भुक्तानी घटनास्थल मैं दावी भुक्तानी दिने नीति अख्तियार गरेको छ । ९ महिनाको अवधिमा करिब १ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छौं । लगभग ७५ प्रतिशत भुक्तानी भईसकेको छ भने बाँकी २५ प्रतिशत आवश्यक कागजात नपुगेका कारण प्रक्रियामै रहेको छ । दाबी भुक्तानी समयमै भएकाले हामीप्रति ग्राहकहरुको सोच निकै सकारात्मक भएको पाएका छौं । हाम्रा रणनीतिहरुमा मुख्यतया प्रविधिमा विशेष ध्यान दिएर ग्रुप म्यासेज, अनलाईन मार्केटिङ र च्याट बोट आदिका माध्यमबाट प्रविधिमैत्री बीमा सेवा प्रदान गर्ने निति लिएका छौं ।

अन्य बीमा कम्पनी भन्दा अजोड किन फरक छ र यसका विशेषताहरु केके छन् ?
फरकपन भन्नुपर्दा हाम्रो व्यबस्थापन समूह एकदमै व्यबसायिक र सक्षम छ । दक्ष तथा अनुभवी व्यक्तिहरुको आवद्दता, प्रतिष्ठित ब्यक्तित्वहरु संस्थापक सदस्यहरु भएकाले अन्य भन्दा फरक हुने नै भयो । प्रविधिमा आधारित बीमा सेवा, छिटोछरितो र भरपर्दो बीमा सेवा, दाबी भुक्तानीमा एकदमै छिटो लगायतका अजोडका विशेषताहरु छन् । हामी ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका छौं । यसको ’गुड वील’ पनि यहि नै हो ।

बजारमा अजोडको उपस्थिति कस्तो छ ?
हामीले सोचे अनुसारको उपस्थिति अझै भईसकेको छैन । तथापि सन्तोषजनक नै मान्नुपर्छ । अहिले बजारको अवस्था हेर्दाखेरी हामी हाम्रो उपस्थितिमा सन्तुष्ट हुने अवस्था छ । पहिलो वर्ष भएकाले शाखा सञ्जाल बिस्तारलाई ध्यान दिईरहेका छौं । ७ वटै प्रदेशमा हामीले हाम्रो उपस्थिति जनाईसकेका छौं । अजोड स्थापनाको १० महिना पुगेको छ । १ वर्ष नपुगी वास्तविक अवस्थाका बारेमा विस्तृत रुपमा भन्न सकिंदैन ।

बीमा क्षेत्रमा लामो समय विज्ञता हाँसिल गरेकाहरुले नेपालमा बीमा कम्पनी धेरै भए भन्छन्, तपाई के भन्नुहुन्छ ?

बीमा कम्पनी धेरै भएजस्तो मलाई लाग्दैन । बीमाको बजार खासै बढ्न सकेको छैन । यसको दायरा धेरै बढ्नु आवश्यक छ । बीमा कम्पनी धेरै भए भन्दा पनि भोलीका दिनमा बीमाको बजारलाई कसरी ब्यबस्थित बनाउने भनेर विशेष सजगता अपनाउनु जरुरी छ ।
बीमाको दायरालाई कसरी फराकिलो बनाउने त ? भोलीका दिनमा बीमा सेवालाई कसरी ब्यबस्थित र सबैको पहुँचमा पुर्याउने भन्नेतर्फ सबैको ध्यान जानु जरुरी छ । गत माघदेखि लागू भएको सम्पत्ति निर्देशिकाले बीमाको दर घटाएर बीमाको दायरा बढाउन सहयोग गरको छ । यसको दायरालाई बढाउने हो भने कम्पनी धेरै भएको मान्न सकिंदैन । बजार कसरी बढाउने भन्नेतर्फ ध्यान दिनु आवश्यक छ । बीमाको क्षेत्रलाई सबैको पहुँचमा पुर्याउन अझै नसकिएकाले यस सम्बन्धि जनचेतना आवश्यक छ ।

बीमाको क्षेत्रलाई सबैको पहुँचमा पुर्याउन सकिएको छैन भन्नुभयो, बीमा सम्बन्धि सचेतनाका लागि अजोडले कस्ता काम गर्दैछ ?

बीमाको क्षेत्रलाई फराकिलो नबनाएसम्म कम्पनी मात्रै थपेर केहि हुँदैन । यो हामी सबैले राम्रोसँग बुझेका छौं । कम्पनीको ब्राण्डिङ, स्पोन्सरशिपमा पनि हाम्रो उपस्थिति बजारमा राम्रै देखिएको छ । स्थापना भएको १० महिनाको अवधिमा आधारभुत बीमा अभिकर्ता तालिम ३ वटा सञ्चालन गरिसकेका छौं । कृषि तथा पशुको लागि बीमा अभिकर्ता तालिम गुल्मी, पर्वत, रौतहट लगायतका जिल्लामा सम्पन्न गरिसकेका छौं । निकट भविष्यमा आवश्यकता अनुरुप बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै जाने लक्ष्य लिएका छौं ।
बीमा जागरणका लागि हामीले मात्रै प्रयास गरेर पुग्दैन । यसलाई ब्यापक बनाउन सरकार, बीमा समिति, नेपाल बीमक संघ र आवद्द कम्पनीहरु सबै मिलेर हातेमालो गर्ने हो भने बीमा क्षेत्रलाई सबैको पहुँमा पुर्याउन सकिन्छ । बीमक संघले बीमा साक्षरताको काम गर्दैछ । सक्षमको सहयोगमा बीमाको आवश्यकता सम्बन्धि लघु बीमाको साझा विज्ञापनहरु बनाएर प्रशारण गर्दै आएको छ । बीमा आवश्यक छ भन्ने खालका सूचना÷सन्देशहरु व्यापक रुपमा प्रचार÷प्रसार हुनु जरुरी छ । अजोडले मूख्यतया सर्वसाधारणलाई जागरुक बनाउने उदेश्यले बीमा तालिम र प्रचार÷प्रसारमा विशेष ध्यान दिएको छ । हामीले बीमा गर्दाका फाईदाहरुका बारेमा जानकारी दिने र अन्तक्रिया गर्ने काम गरिराखेका छौं ।

हिजोआज बीमा र बैंकले गर्ने कामहरुवीच समानता देखिन्छ, बैंक र बीमा कम्पनीवीच के कस्ता साझेदारी हुने गर्छन् ?

अहिले बैंकले संस्थागत अभिकर्ताका रुपमा बीमा सम्बन्धि काम गरिरहेको छ । बीमा त बैंकको लागि मेरुदण्ड नै हो । बैंकले बीमाको सहभागिता बिना धेरैजसो काम गर्न सक्दैन । बीमा र बैंक एकअर्का बिना अधुरो नै रहन्छन् । धेरै कामहरु साझारुपमा हुने भएकाले बैंक तथा बीमा कम्पनी वीच समानता छ ।

अजोडले शाखा विस्तार कुन रुपमा गर्दैछ ?

अजोड करिब रु.१ अर्बको पुँजीमा आएको बीमा कम्पनी हो । पेडअपको हिसावले पनि भोलीका दिनमा ब्यापारको आकार ठूलो बनाउनका लागि हामीले शाखा विस्तार त गर्नैपर्छ । पूर्वदेखि पश्चिमसम्म सातै प्रदेशमा हाम्रो पहुँच पुगिसकेको छ । बीमा समितिले कृषि तथा पशु बीमाका लागि छुट्याएका चारवटा जिल्लाहरु पर्वत, गुल्मी, रौतहट र पुर्वी रुकुममा समेत गरी हामीले २९ वटा शाखा कार्यलयहरु खोलिसकेका छौं । यो वर्षको अन्त्य सम्ममा थप ५ वटा शाखा विस्तार गरेर ३४ वटा पुर्याउने लक्ष्य राखेका छौं । यस बाहेकका १७ वटा काउण्टर यातायात कार्यालय र सञ्चयकोषमा पनि खोलेको छौं । यसरी हेर्दा पनी हाम्रो शाखा सञ्जाल ब्यापक भईसकेको छ ।

नेपालमा बीमा बजारको अवस्था कस्तो छ ?
बीमा बजारको अवस्था जुनरुपमा बृद्दि र बिस्तार हुनुपर्ने हो, त्यसरी हुन सकेको छैन । अहिले विस्तारकै क्रममा छ । यहि रुपमा अगाडि बढ्दै जाने हो भने अबको ५ वर्ष सम्ममा यसको विस्तार धेरै राम्रो हुनसक्छ । बीमा सम्बन्धि सचेतना पहिलेको भन्दा केहि बढेको छ तर पुगेको छैन ।

बीमा कम्पनीले दाबी भुक्तानीमा ढिलाई गर्छन् भन्ने गुनासो सुनिन्छ नी ?

दाबी भुक्तानी कम्पनीको मेरुदण्ड हो । अजोडले दाबी भुक्तानीमा एकदमै सजगता अपनाएको छ । दाबी भुक्तानीमा ग्राहकहरु सन्तुष्ट नभएसम्म कम्पनी अगाडि बढ्न सक्दैन । हामीले हालसम्म १ सयवटा दाबीको भुक्तानी गरिसकेका छौं । ८८ लाख ८४ हजार ५ सय ७४ रुपैया भुक्तानी भईसकेको छ । जम्मा १ सय २६ वटा दाबीमा बाँकी २६ वटामात्रै रहेको छ । यो पनि प्रक्रियामैं छ । ५१ लाख ४२ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । प्रमाणित भईसकेको केहि समयभित्रै हामी भुक्तानी दिन्छौं । २ लाख रुपैयाँसम्म त हामी ठाउँको ठाउँ नै भुक्तानी गर्छौं । यसको हामीले ’फास्ट ट्रयाक’ नाम राखेका छौं ।

बीमा कम्पनीका आवश्यकता केके हुन् ?

बीमा गर्ने भनेको सुरक्षाको लागि हो । बीमा गर्ने ग्राहकलाई सुरक्षाको प्रत्याभूति दिने काम बीमा कम्पनीले गर्छ । कम्पनीले सरकारलाई कर तिर्छ । यसले ग्राहकको जोखिम बहन गर्छ । वास्तवमा अबका दिनमा बीमा बिनाको जीवन संभव पनि छैन ।

 

भुकम्पपछि निर्जीवन बीमा कम्पनीमा आकर्षण बढेको हो ?

वास्तवमा भुकम्प गईसकेपछि यसप्रति आकर्षण बढ्छ भन्ने खालको धेरैको सोच भएको भएतापनि वास्तविकता भने त्यस्तो छैन । बजार केहि बढेतापनि जूनरुपमा यसप्रतिको धारणा निर्माण हुनुपर्ने थियो त्यस्तो हुन सकेको छैन । जबसम्म बीमा गर्नुपर्छ भन्ने सोच आउँदैन त्यतिबेलासम्म बीमाको बजारको दायरा फराकिलो हुँदैन । स्वतस्र्फूतरुपमा बीमा गर्ने संस्कार हामीमा छैन । बैंक तथा फाईनान्सको कारणले बीमाको बजार केहि बढेको हो । जस्तैः मोटर बीमा गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ, त्यसरी नै अन्यमा पनि लागू भयो भने चाहि बीमाको दायरा बढ्छ ।
बीमा गर्नुपर्छ भन्ने त प्रायलाई थाहा भईसकेको छ तर बानी भईसकेको छैन । यसका लागि नेपाल सरकारले स्थानीय तह मार्फत बीमालाई प्राथमिकतामा राखेर घरनिर्माणमा अनिवार्य गराईदिन सकेमा बीमाको दायरा बढ्न सक्ने देखिन्छ । राष्ट्र समृद्द हुनलाई नागरिक सुरक्षित हुनुपर्छ । भवितव्य परिहालेमा नेपाल सरकारले आफैले सबै जिम्मेवारी बहन गर्नुपर्दैन । घर बीमाको रेट अहिले निकै घटेको छ । रु १ करोडको घरको बीमा गर्दा जम्मा ४ हजार प्लस भ्याट वार्षिक रुपमा तिर्नुपर्ने हुन्छ र यसबाट भविष्यमा आईपर्ने जोखिमबाट बच्न सकिन्छ । बीमा गर्नका लागि सुरक्षित र भरपर्दो अजोड इन्स्योरेन्सलाई सम्झिनुहुन अनुरोध गर्न चाहन्छु ।
बीमामा जूनरुपमा आकर्षण हुनुपर्ने हो त्यो नहुनुको मुख्य कारण आम नागरिकको बानी बस्न नसक्नु नै हो । केहि वर्ष मोटर बीमा जस्तो अनिवार्य गरिदिने हो भने त्यसपछि बीमामा बानी पर्नसक्छ । नेपाली बीमा बजारको दायरा हेर्दा संतोषजनक भएको देखिंदैन । यसका लागि आम नागरिक, सरकार, बीमक संघ, बीमा समिति लगायतको अझ बढि सक्रियता आवश्यक देखिन्छ ।

फर्जी दाबीका कारण कत्तिको समस्या आउने गरेको छ ?
हामीले फर्जी दाबीका कारण समस्या भोगेका छैनौं । यदि बीमा गर्दाखेरी नै बीमित बस्तुको बारेमा भौतिक परिक्षण गर्ने हो भने फर्जी दावी आउने संभावना न्यून रहन्छ । त्यसैले बीमा गर्नुपूर्व बीमा गर्ने सम्पत्तिको राम्रोसँग निरीक्षण गर्ने हो भने फर्जी दाबीको झन्झट बेहोर्नुपर्दैन ।

अन्त्यमा के भन्नुहुन्छ ?
सानो पैसाले ठूलो जोखिम बहन हुन्छ । सम्पत्ति बीमामा घरबीमा सबैले गराईदिने हो भने बीमाको बजार पनि बढ्ने र ग्राहक पनि सुरक्षित हुने भएकाले कुनैपनि प्राकृतिक प्रकोपको जोखिमबाट बच्न सकिन्छ । एउटै पोलिसीले सबै जोखिम बहन गर्ने भएकाले आफ्नो घरको बीमा गरी सुरक्षित हुनका लागि आजै घर बीमा गर्न आम नागरिकमा हार्दिक अनुरोध गर्दछु ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस