सिइओ जागीर होईन, जिम्मेवारी हो

पेशाले चार्टड एकाउन्टेन्ट मनोज ज्ञवाली ज्योति विकास बैंकको सिइओको जिम्मेवारी सम्हालिरहेका छन् । दैलेख जिल्लामा जन्मिएका ज्ञवालीको करियरको सुरुवात नेपाल राष्ट्र बैंकको विदेशी विनीमय व्यबस्थापन विभागमा सहायक निर्देशकबाट भएको हो । उनले त्यहाँ छ बर्ष बिताईसकेपछि ग्लोबल आईएमई बैंकमा लगभग ८ बर्ष टप लेभल म्यानेजमेन्टमा काम गरे । छोटो समय हाईड्रोपावर क्षेत्रमा पनि अनुभव बटुले । एचआइडिसिएलमा संचालकको रुपमा २ वर्षको अनुभव पनि संगाले । जीवनको उर्जाशील समय बैंकिङ क्षेत्रमै विताए । सिएका हिसाबले आफ्नो क्षेत्रमा जस्तो पनि काम गर्न सक्ने क्षमता राख्ने उनी पिपुल म्यानेजमेन्टमा कन्फिडेन्स रहेको वताउँछन् । ज्योति विकास बैंकमा २ वर्ष डेपुटी सिईओको जिम्मेवारी सम्हालेपछि विगत १ वर्षदेखि सिईओकोरुपमा कार्यरत् छन् ।

बैंकिङ क्षेत्रमा करिव २० वर्षको समय खर्चेका उनी कुशल उत्प्रेरककारुपमा समेत चर्चित छन् । अध्ययनमा रुची राख्नुका साथै यो क्षेत्रमा आउन चाहने नवप्रवेशीका लागि समेत बैंकर ज्ञवाली प्रेरणाका स्रोत हुन् । सिईओको भूमिका डिपोजिट संकलन गर्ने, लोनका लागि दौडने मात्र नभई बैंकमा कार्यरत आठसय कर्मचारीलाई उत्प्रेरणा दिने, उनीहरुमा सकारात्मक तरंग ल्याउने, उर्जाशील सपना देखाउने लगायतका अभिभावकीय कार्यमा लागिरहेको वताउँदै आफू असल उत्प्रेरक र नेतृत्वकर्ताको भूमिकामा ज्योति विकास बैंकमा कार्यरत रहेको वताए । चर्चित बैंकर मनोज ज्ञवालीको बैकिङ करियर र ज्योति विकास बैंक सम्बन्धि भित्री तथ्यहरु समेटिएको छ ।

 

शिक्षा र करियर

जन्मथलो दैलेखमा विद्यालय तहमा टपर भएका कारण सबैले मन पराउँथे । मायाँ गर्थे । विस्तारै ममा पनि अझैं राम्रो गर्नुपर्छ भन्ने सोच जागृत हुन थाल्यो । विद्यालयको अध्ययन सकेर काठमाण्डौ आएँ । त्यो बेला टपरहरु साईन्स पढ्थे । डाक्टर यात इन्जिनियर भन्दा अन्य विषय पढ्ने चलन थिएन । तर मलाई म्यानेजमेन्टमा रुची जाग्यो । पिपुल्स कलेजबाट आइकम गरें । त्यो बेला सिएको बारेमा गाईंगुईं सुनेको थिएँ । एकजना दाईले पढ्न धेरै पैसा लाग्दैन तर धेरै मेहनत गर्नुपर्छ भन्नुभयो । मलाई पढाई कहिलेपनि गाह्रो लाग्दैनथ्यो । पढ्न पनि सकिएन भने जीन्दगीमा गर्न के सकिन्छ ? मलाई यस्तै लाग्थ्यो । शंकरदेवबाट बीबीएको अध्ययन सकेर सन् १९९८ मा सीए पढ्का लागि इण्डिया गएँ । सिएको पढाइमा मेहनत धेरै गर्नुपर्यो । तर असंभव भने थिएन । हामीमध्ये धेरैले जाँचमा धेरै नंवर ल्याउनका लागि पढ्छौ । अनि पढाई बोझ लाग्न थाल्छ । बुझेर पढ्ने हो भने पढाई जतिको सजिलो र आत्मसन्तुष्टि केहिमा पनि पाईदैन । मलाई पढ्न र पढाउन असाध्यै रुची लाग्छ । बैंकिङ क्षेत्रमा कार्यरत रहँदा रहँदै १७ वर्ष बिबिए र एमबिए को अध्यापन गरें ।

४ वर्षमा सिएको अध्ययन सकेर सन् २००२ मा नेपाल आएँ । त्यो बेला अहिलेजस्तो सिएको संख्या थिएन । नेपाल बैंक र वाणिज्य बैंकमा नवौं र दशौं तहका लागि आवेदन खुलेको थियो । सोही समयमा राष्ट्र बैंकमा पनि जागीर खुल्यो । बैंकहरुको पनि बैंक, ठूलो ठाउँ, गर्भनरसम्म हुन पाईने भनेर राष्ट्र बैंकसम्बन्धि छुट्टै धारणा बनेको थियो । मेरो मामा नेपाल बैंकमा कार्यरत हुनुहुन्थ्यो । उहाँले राष्ट्र बैंकमा जागीर खान सल्लाह दिनुभयो । १ नंवरमा नाम निस्कियो अनि सुरु भयो मेरो बैैकिङ करियर । अधिकृत स्तरका सरकारी कर्मचारीको मासिक तलव १२ हजार हुँदा हाम्रो ३८ हजारको हाराहारीमा थियो । केहि वर्ष राष्ट्र बैंकमा काम गरेपछि प्राईभेट बैंकमा काम गर्ने साथीहरुले प्राप्त गरेको सेवा, सुविधा देखेर आफूलाई पनि प्राईभेट बैंकमा काम गर्ने ईच्छा जाग्यो । ग्लोबल आईएमई बैंकमा फाईनान्स हेडको खोजी भईरहेको रहेछ । केहि चार्टड एकाउण्टेण्टहरु वीच प्रतिस्पर्धा भयो र मेरो नाम निस्कियो । सोही बैंकमा सिएफओ, सिओओको जिम्मेवारी पनि पूरा गरें । त्यसपछि ज्योति विकास बैंकको डेपुटी सिईओ हुँदै हाल सिईओकोे जिम्मेवारी पूरा गर्दैछु ।

newsdainik.comअनुभव र आगामीे योजना

विद्यार्थी जीवनमा राजनीति गर्थें । विद्यार्थी संघको एकाई समिति र जिल्लासम्म मै अध्यक्ष समेत भएर काम गरेको अनुभव छ । नेपालमा सम्पन्न प्रदेशसभा र प्रतिनीधिसभा चुनाव भन्दा पहिलेसम्म आफुले आस्थाकै आधारमा नै राजनैतिक भोट हाल्दै आएको थिएँ ।
मेरो जागीरमा झुण्डिने भन्दा पनि रिसर्च गरौं र केहि ठूलो योगदान भन्ने सोचले जहिलेपनि पिछा गरिरहन्छ । तर नेपाल राष्ट्र बैंक हुँदै विभिन्न बैंकमा जागीरेको भूमिकामा नै देखापर्दै आएको छु । कुनैपनि संस्थामा जागीर गर्दिन भन्ने टुंगोमा पुगेपछि केहि नयाँ थालनी गरौं भन्ने लाग्छ । अध्ययन गरौं भन्ने हुन्छ । हालसम्म फेरीपनि जागीरमै लागिरहेको अवस्था छ । जागीरले स्थान दिन्छ, परिचय, पहिचान दिन्छ ।

पैसा जति कमाएपनि पुग्दैन । पदले पनि कहिले पुग्दैन । राजस्व तिर्ने बाहेक राष्ट्रलाई कुनैपनि योगदान दिन सकेको छैन । अहिले सुक्ष्म तहमा गरेको कामलाई अँझै बृहततहमा गर्ने मन छ । नेपालको राजनीति पनि बडा अच्चमले अगाडि बढ्दैछ । अहिले दुई तिहाईको सरकार भएतापनि जनभावना अनुरुपको काम भएजस्तो लाग्दैन । हामीजस्ता सिर्जनशील सोच भएकाहरु राजनीतिमा आउनुपर्छ भन्ने मेरो मान्यता हो । राजनीतिमा जोखिम छ, त्यो मोल्न क्षमतावानहरु तयार हुनुपर्छ । राजनीतिमा जिन्दावाद मूर्दावाद भनेर मात्रै लगानी हुने होईन । यसका त्याग चाहिन्छ । अहिले पनि राजनीतिमा रुची नभएको होईन । रुची अत्यधिक छ । हेरौं भविष्यमा के हुन्छ । अहिलेको भूमिकामा बसेर अरु सोच्न सक्ने समय र अबस्था दुबै रहदैन ।

 

फूर्सदको समय

अहिले खासै फूर्सद मिलेको छैन । हाम्रो विकास बैंकलाई ज्योति विकास बैंकले प्राप्ति गरिसकेपछि शाखा विस्तार, तालिम, ब्रान्च भिजिट लगायतका व्यस्त छु । फूर्सद भयो की घुम्न एकदमै मनपर्छ । परिवारसँग विभिन्न ठाउँमा पुग्ने गरेको छु । अध्ययनमा रुची छ ।

सबैभन्दा ठूलो ज्योति विकास बैंक

हाम्रो बिकास बैक प्राप्ति पश्चात चुक्तापूँजीको हिसावले राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये ज्योति विकास बैंक सबैभन्दा ठूलो बैंक बनेको छ । रु.३ अर्व १० करोडको पूँजी छ । रु.२९÷३० अर्वको कर्जाको बिजनेस साईज पूँजी चाहिनेमा ज्योतिमा अहिले रु.२४ अर्ब छ । अब लगभग रु .५ अर्बको ग्याप मिट गर्ने नै मेरो पहिलो लक्ष्य यहिनै रहने छ । त्यसैमा लागि परेको छु ।

ज्योति विकास बैंकको अवसर र चुनौती

पूँजीको आकार र आन्तरिक प्रणाली बलियो बनाउने हो भने हामीसँग प्रशस्तै अवसर छन् । विजनेस ग्रोथ गरेर मात्रै पुग्दैन । अवसरलाई सार्थक बनाउन तल्लो तहबाटै आन्तरिक नियन्त्रण प्रणाली राम्रो बनाउनुपर्छ । म ज्योतिमा आउँदा डिपोजिटको आकार रु.६ अर्व पनि थिएन । ३ वर्षको अन्तरालमा रु.२६ अर्बको नाघेको छ । बैंकिङ क्षेत्रको विकास १९÷२० प्रतिशत छ भने हाम्रो बैंकको ग्रोथ हेर्नुस् त ? बृद्दिको अवसर नगन्य मात्रामा छ तर हामीले गरेका छौ । ज्योतिमा आवद्द हरेकको उत्तिकै मेहनत छ । लगानी छ । बैंकको ग्रोथ हामीले भन्ने होईन । एकजनाले मात्रै गरेर या चाहेर हुने होईन, बैकमा संचालक समितिको तत्परता, निर्देशन र उत्प्रेरणा एकदम राम्रो अनी ब्यबस्थापनदेखि सहयोगी तहका साथीहरु सम्मको रातदिनको मेहनेतले हामी यसरी ब्यबसाय, नेटवर्क र सेवा सुबिधामा छलाङ मार्न सफल भएका छौं । हामी कतिको सफल÷असफल रिजल्टले देखाईरहेको छ । अघिल्लो वर्षको एसेट्स ग्रोथ सबै बैंकको भन्दा हाम्रो धेरै छ । यहि वर्ष रु ४÷५ अर्बको थप ग्रोथ लिने भनेको कुनै ठूलो कुरो होईन ।

विजनेस ग्रोथ भएअनुसार इन्टरनल पोलीसी , स्टाफको क्यापासिटी विल्डअप गरेनौं भने बैंकमा जोखिमहरु धेरै आउन सक्छन् । तासको घर भत्केजस्तै रातारात बैंक चुर्लुम्म डुब्न सक्छ । अमेरिकामा सन २००८ मा १४० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु डुबे । विश्वलाई हाक्ने, प्रविधिमा अब्बल, सक्षम राष्ट्रको बैंकहरुको त त्यो हविगत भयो भने हाम्रोजस्तो देशमा जे पनि हुनसक्छ । त्यसकारण संस्थालाई बलियो बनाउनेतर्फ हामी केन्द्रित छौं । कर्पोरेट गर्भर्नेस, पोलिसी बलियो बनाउने नै अहिलेको हाम्रो मुख्य चुनौती हो ।

ज्योति विकास बैंकको वित्तीय अवस्था

रु.३ अर्व १० करोड चुक्तापूँजीको हिसावले सबैभन्दा ठूलो विकास बैंक भएको छ । लगभग साढे २ लाख ग्राहक, लोन रु २४ अर्व, डिपोजिट रु साढे २६ अर्व छ भने सेवातर्फ ज्योति रेमिट र माईक्रोफाईनान्स सञ्चालनमा आईसकेको छ । भिजा कार्ड, मोवाइल बैकिङ पनि सुरु भईसकेको छ । ९६ शाखा सञ्चालनमा छन् र १ शाखा थप गर्दैछौं । ४ वटा संस्थाहरु आपसमा गाभिंदा पनि कहि कतै समस्या छैन ।

 

 

बैंकहरुको ‘सूपर प्रफिट‘

हामी नेपालीहरुको सबैभन्दा खराब बानी भनेको गलत कुरामा सबैभन्दा धेरै ध्यान दिन्छौं । फलानो व्यापारीले लुट्यो भन्ने समाचार सबैभन्दा बढी शेयर हुन्छ । सामाजिक सञ्जालमा खत्तम भो भनेर भन्न पायौं भने हामीलाई खूब मज्जा आउँछ । बैंकहरुले लुटे भन्दा पनि खूब ताली बजाउँछौं तर केमा लूटे त ? भनेर चाहिं खासै ध्यान दिन्नौं । ज्योति विकास बैंक १० औं वर्ष पार गरेर ११ औं वर्षमा प्रवेश गरेको छ । यो समायावधिमा प्रमोटरको कति वृद्धि भएको छ त ? त्यो समयमा कसैले रु.१० लाखको शेयर हालेको थियो भने रु. ७ लाख ८० हजार वराबरको डिभिडेन्ट पायो । उसले आजका मितिसम्म जम्मा पाउने भनेको रु. २० लाखसम्म पनि हुँदैन । तर त्यो बेला कसैले जग्गामा रु.१० लाख लगानी गरेको थियो भने आजका मितिमा रु. ४÷५ करोडसम्म पनि कमाएका छन् ।

रु.१० लाखै लगानी गरेर व्यापार गर्नेहरुले लाखौंको घुस दिन सक्छन् तर बैंकमा १÷१ रुपैयाँको हिसाव किताव हुन्छ । सबैकुरा प्रष्ट हुन्छ । पारदर्शिता नभएका ठाउँमा नै हो ‘सूपर प्रफिट‘ हुने । रु १० लाख लगानी गरेर रु १० अर्व कमायो भने बल्ल हामी सूपर प्रफिट भन्न सक्छौं ।

हात्तीले टन्न खान्छ भनेर भन्न मिल्छ त ? उस्को साईज नै ठूलो हुन्छ खान्छ । यो त बाख्राले भन्दा हात्तीले बढी खायो भनेजस्तो कुरो भयो क्या ! कुनै बैंकहरुले होम लोन र अटो लोन को ७÷८ प्रतिशतको लोन १४÷१५ प्रतिशत पुर्याए भने त्यो गलत हो । म जहिले पनि त्यसको विरुद्धमानै छु । आवश्यक कुरामा वादविवाद गरौं न । बैंकहरुले एउटा लोन पास गराएर त्यसको प्रतिशत बढाउँदै लगे भने त्यो गलत हो । बैंकिङ क्षेत्रमा यस्ता कुकृत्यको म सँधै खुलेर विरोध गर्दै आएको छु । कसैको हातमा क्यान्सर लागेको छ भने औंला काटेर फ्याँक्नुपर्छ । तर सबै अंग छियाँ छियाँ पार्न मिल्छ र ?

नेपालमा बैंकहरुले सूपर प्रफिट गरेका छैनन् । राष्ट्र बैंकको नीति निर्देशन अनुसार गरे भएको कामलाई गलत भन्न मिल्दैन । यदि कुनै बैंकले अटो लोन, होम लोन लगायतमा एग्रिमेन्ट भन्दा बढी व्याज लगाए भने त्यस्तालाई कार्बाही गर्नुपर्छ तर समग्र बैंकिङ क्षेत्रलाई गलत भन्न मिल्दैन ।

नेपालमा बैंकिङ क्षेत्रको विकास

व्यापारिक हिसावले एकदमै राम्रो छ । शाखाहरु पनि धेरै नै बढेका छन् । यहि कारण नै लिक्वीडिटी क्राईसिस भएको हो । यस्तो अवस्थामा शाखा सञ्जाल यति भए की ग्राहकलाई सजिलो भयो तर बैंकहरुलाई निक्षेप संकलनमा अप्ठेरो पर्यो । तरपनि पछिल्ला वर्षहरुमा यो क्षेत्रमा भएको विकास अत्यन्तै राम्रो र विश्वसनीय ढंगमा अगाडि बढेको छ । प्रबिधीको प्रयोग बढेको छ, बैकिङ पहुँच अत्यन्तै सहज भएको छ ।

कुखुरापालनदेखि हाईड्रोपावरसम्म

आजको दिनमा बैंक तथा वित्तीय संस्थाहरु नीति नियमको परिधिमा रहेर काम गरिरहेका छन् । सबैले नियमनकारी निकायले तोकेको अनुपातमा उत्पादनशील क्षेत्रमा लगानी गरेका छन । बैंकले यसलाई लोन दियो, उसलाई लोन दियो भनेर चर्चा हुने गर्छ । रेष्टुरेण्टमा ग्राहकले चाउमिन, मःम माग्छन् त रेष्टुरेण्टले कसरी वर्गर बनाउँछ ? ज्योति विकास बैंकमा आउनुहोस्, तपाईलाई चाहिएको लोन हामी दिन्छौं । विजनेस, अटो, होमलोन के चाहिन्छ ? माग अनुसारको लोन दिन्छौं । आजका दिनमा रु ५० हजारदेखि रु ८७ करोडसम्मको लोन दिन सक्छौं । कुखुरापालनदेखि हाईड्रोपावरसम्मका लागि लोन दिन्छौं । बैंकले माग अनुसारको कर्जा प्रवाह गर्ने न हो ।

विकास बैंकको दायरा

विकास बैंकले एलसी कारोबार गर्न पाउदैन । सरकारी निक्षेपहरु नपाएको स्थिती छ । सरकारलाई जारी हुने ग्यारेन्टीको काम गर्न पाईदैन । यो बाहेक ‘क‘ वर्गका बैंकले गर्नसक्ने हरेक काम विकास बैंकले गर्न सक्छन् । यहाँ कमर्सियल बैंकहरुले लिक्वीडिटीमा समस्या भएर १३ प्रतिशत भन्दा बढी एफडीको रेट छापे । उनीहरुले रातारात ‘हाय तौवा‘ गरे । कुनैपनि विकास बैंकले ८ प्रतिशतको लोन १६ प्रतिशत पुर्यायो भनेर ग्राहकले भनेको सुन्नु भएको छ ? विगत २ वर्षमा सबैभन्दा बढी सुरक्षित र संयमित विकास बैंकहरु देखिएका छन् । राष्ट्र बैंकले तोकेकै सीमा र नियम अनुसार हामी काम गर्छौं । परिपक्वता पनि विकास बैंकहरुको नै देखिन्छ । विकास बैंकले आफ्नो आकार अनुसारकै काम गरेको हुँदा सजिलो सुरक्षित र विश्वासयोग्य छ । तर यो विर्सनुहुँदैन की कमर्सियल बैंक हरेक हिसावले अगाडि छन् । विकास बैंकहरुले पनि फूँइ लगाउनुपर्ने आवश्यकता छैन ।

सिईओको भूमिकाको गरिमा

अबको ३ वर्षको लक्ष्य भनेको ज्योति विकास बैंकलाई हरेक हिसावले पर्फेक्ट बनाउने हो । म प्रधानमन्त्री हुन्छु, नेता हुन्छु भनेर सोचें भने मेरो भूमिकाको गरिमा रहँदैन । इमान्दारिता पनि रहँदैन । ज्योतिलाई राम्रो बनाउनेमै केन्द्रित हुनेछु । व्यापार, नाफा, सुशासन, कर्मचारीको क्षमता, नेटवर्किङ अब्बल बनाउने प्रयास हुनेछ । सिइओ जागीर होईन, यो जिम्मेवारी हो । म ८ सय कर्मचारी, नियमनकारी निकाय, शेयर होल्डरप्रति जिम्मेवार छु । जिम्मेवारी लिएको मान्छेले जिम्मेवारी प्रति प्रतिबद्द हुनुपर्छ यसैले म अरु तीन बर्ष ज्योति बिकास बैकको सिईयोको रोल मै मात्र फोकस हुन्छु । मेरो स्ट्रेन्थ भनेको मेरो टिम हो अनी म पनि मेरो टिमको स्पीरिट अनुसार चल्छु, आई अन्डरस्ट्याण्ड द पिपुल । (सिईओ मनोज ज्ञवाली  र  सम्पादक कल्पना शर्मा वीच भएको कुराकानीको सम्पादित अंश)

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस