काठमाडौँ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरि सोमबार देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरि शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रबिहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाई छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
भगवान श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । यस वर्ष प्रयागराजमा भएको कुम्भ मेलाका दर्शनार्थीमध्ये केही पशुपतिनाथ मन्दिरमा पनि आएकाले एक साता अघिदेखि नै साधुसन्त लगायत भक्तजनको भीड बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिमा पाँच हजार सुरक्षाकर्मी परिचालन
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताउनुभयो । पशुपतिनाथ पाश अर्थात बन्धनमा परेका प्राणीका मुक्तिदाता मानिन्छन् । कैलाशनिवासी शिवले मृगस्थलीमा मृग रुप लिई धेरै वर्ष रमण गरेको पौराणिक कथामा वर्णन छ ।
पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन भएका छन् । कोषको ऐनमा नै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेतमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको सचिव ढकालले बताएका छन् ।
कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ । विगत वर्षमा मूल सभा समितिबाट नै सम्पूर्ण व्यवस्था हुन्थे । यस वर्ष एउटा एउटा विषयगत उपसमितिको गठन भई सेवा दिइने भएको कोषले जनाएको छ ।
त्यस्तै दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको जनाइएको छ । दर्शनका लागि बिहान साढे बजेदखि नै पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको छ ।
प्रतिकृया दिनुहॊस