काठमाडौं । माघ शुक्ल पूर्णिमा। मंगलबार स्वस्थानी व्रत समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श्रीस्वस्थानीको विशेष आराधना गरिन्छ।
देवाधिदेव महादेवसहित स्वस्थानीको विधिपूर्वक पूजा आराधना गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। समापनको पूजामा स्वास्थानी देवीलाई १०८ को संख्यामा पूजा सामग्री चढाइन्छ। अक्षता, बेलीपुष्प, जनै, पान, रोटी, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ। यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा (छोरी) लाई दिई सय रोटी व्रतालुले खाने विधान छ। सत्य युगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ।
महादेव पति पाएपछि पार्वतीले नै यो व्रत जनमानसमा फैलाउन लगाएको स्वस्थानी व्रतकथामा उल्लेख छ। यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहत्म्य’ पाठ गर्ने परम्परा रहेको पुराणविद् प्रियंवदा काफ्लेले बताइन्। महिना दिन घरघरमा वाचन गरिएको नेपाली र नेवारी भाषाको स्वस्थानी व्रतकथा पनि बुधबार नै पूरा गरिँदै छ। काठमाडौंको उत्तरपूर्व साँखुस्थित शाली नदी र भक्तपुरको हनुमानघाटमा लागेको माधवनारायण मेला पनि सम्पन्न हुँदैछन्। माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला–पर्वहरू पनि माघ शुक्ल पूर्णिमामै सम्पन्न हुन्छन्।
स्वस्थानीको कथा सनातन धर्मावलम्बीहरूको पौराणिक कथामध्ये नेपालीहरूको निजी विशेषता भएको कथा हो। व्रतकथा नेपाली तीर्थस्थललाई नै महत्त्व दिइएको छ। किराँतेश्वर, गौरीघाट, मृगस्थली, गोकर्ण, लावण्यदेश, वागमती, शालीनदीजस्ता तीर्थस्थलको उल्लेख र महिमा बताइएको छ। त्यसैले पनि विशेषगरी काठमाडौं उपत्यकामा यो व्रतको महत्त्व भएको बुझिन्छ।
8
प्रतिकृया दिनुहॊस