काठमाडौं । काठमाडौं जिल्ला अदालतले गायिका नितु पौडेलको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरीलाई रिहा गर्न आदेश दिएको छ ।
अदालतले उनलाई ३ लाख धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशपछि गिरीले धरौटी रकम बुझाएर रिहा भएका छन् । प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार गिरीले अदालतको आदेश अनुसार धरौटी रकम बुझाएपछि उनलाई रिहा गरिएको हो ।
नितु पौडेलको निधन पछि उनका परिवारले गिरीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए । नितुका बुबा रमेशप्रसाद पौडेलले छोरीको मृत्युको कारण गिरीको क्रियाकलापलाई जिम्मेवार ठहर गर्दै गिरीको विरुद्ध उजुरी दिएका थिए ।
नितु पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । उनलाई तत्काल कीर्तिपुरस्थित वर्न अस्पताल पुर्याइएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भएको थियो ।




