काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आइतबार, कार्तिक ३० गते, काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न बैंकको २४औं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई अनुमोदन गरेको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई आकर्षक प्रतिफल दिने निर्णय गरेको हो । पारित प्रस्तावअनुसार, बैंकको हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बोनस सेयर वितरण गरिनेछ । यसैगरी, कर प्रयोजनका लागि समेत समेटिने गरी ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँ नगद लाभांश पनि प्रदान गरिनेछ ।
साधारण सभाले अन्य महत्वपूर्ण प्रस्तावहरूमाथि छलफल गर्दै तिनलाई समेत पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वित्तीय विवरण, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । साथै, आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।




