बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय

काठमाडौं । बंगलादेशको राजनीतिक वृत्तमा एउटा दूरगामी महत्व राख्ने फैसला आएको छ । त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष जुलाई-अगस्टमा भएका आन्दोलनहरूलाई दबाउनका लागि उनले मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै यो फैसला सुनाइएको हो ।

बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारका अनुसार, न्यायाधिकरणको तीन सदस्यीय इजलासले सोमबार यो ऐतिहासिक आदेश जारी गरेको हो। भारतमा निर्वासनमा रहेकै बेला शेख हसिनाको अनुपस्थितिमा यो मुद्दा चलाइएको थियो।

न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजूमदारले ४५३ पृष्ठ लामो फैसला सुनाउनुअघि यसलाई ६ भागमा विभाजन गरिने जानकारी दिएका थिए। यो फैसलाको घोषणा बंगलादेशी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो, जसले देशभरि ठूलो चासो र बहस सिर्जना गरेको छ।

हसिनासँगै बंगलादेशका पूर्वगृहमन्त्री असदुज्जमां खान कमाललाई पनि सोही अभियोगमा मृत्युदण्डको सजाय तोकिएको छ। यद्यपि, पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई भने ५ वर्ष कैद सजाय सुनाइएको छ। अदालतले हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री