काठमाडौँ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका पाँच प्रदेश सभा सदस्यको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार सो आदेश दिएको हो ।
उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकर प्रसाद कलवार (जसपा)ले सभामुख मण्डलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सभामुख मण्डलको निर्णयविरुद्ध दायर रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ भएको थियो । सुनुवाइपछि अदालतले अल्पकालीन अन्तरिम आदेशसँगै कारण देखाऊ आदेश जारी गरेको छ र अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
गत बिहीबार सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गरिएको थियो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमाले बाहेकका दलहरूले सभामुखबाट मण्डललाई हटाउने प्रस्ताव राखेका थिए । जसको बदलामा सभामुख मण्डलले पाँच सांसदलाई पदमुक्त गरेका थिए ।
संविधानको धारा १८० (घ) बमोजिम प्रदेशसभामा लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै सभामुखले पाँच जनालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेका थिए ।




