चन्द्रागिरिमा जर्मन सहयोगमा एक अर्बको प्रसूति अस्पताल बन्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपालका लागि जर्मन राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भयो । भेटमा जर्मन विकास बैंक (केएफडब्लू) को करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा चन्द्रागिरि–४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका विषयमा छलफल भएको थियो ।

सो अवसरमा नगरप्रमुख गिरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल भवन निर्माणका लागि आफूले निरन्तर पहल, सहजीकरण र समन्वय गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यो कार्य जारी रहने जानकारी दिए ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रूपमा थानकोटमा २५ शय्याको यो अस्पताल बन्न लागेको हो । केएफडब्लूले यसको प्रारम्भिक खाका स्वीकृत गरिसकेको छ र अहिले ‘ग्लोबल टेन्डर’ को चरणमा पुगेको जनाइएको छ । केएफडब्लूले अस्पतालका लागि करिब एक अर्ब बराबरको आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

प्राथमिक अस्पताल थानकोट परिसरमा सो विशेषज्ञ अस्पताल भवन बनाउनका लागि मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरिसकेको छ । नगरपालिकाको सहजीकरण, समन्वय र सहकार्यमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेका थिए ।

गत जेठको पहिलो साता अस्पतालको विस्तृत खाकासहित ‘ग्लोबल टेन्डर’ प्रक्रिया अगाडि बढाउन आवश्यक प्रतिवेदन तयार गर्न स्थलगत अध्ययनका लागि केएफडब्लूको केन्द्रीय कार्यालयबाट मिसेल स्वीपर, प्राडा योर्कसहितको उच्चस्तरीय टोली नेपाल आएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री