नयाँ राजनीतिक शक्ति निर्माणमा जुटे जेनजी, उठाए यी चार माग

काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा एक नयाँ तरङ्ग पैदा भएको छ । पुरुषोत्तम यादव, प्रवेश दाहाललगायतका जेन-जी अगुवाहरूले नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गर्दै बृहत् राष्ट्रिय एकता अभियानको थालनी गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले यसलाई ‘नयाँ राजनीतिक यात्राको सुरुवात’ का रूपमा चित्रण गरेका छन् ।

अभियानको प्रारम्भिक नेतृत्वमा पुरुषोत्तम यादव, प्रवेश दाहाल, सुप्रिया शाही ठकुरी, सुजता जिसी, महेश जैसी, निरुता पौडेल, अबिन लिम्बू, टिकाराम लिम्बू, किरण लिम्बू, प्रकाश धामी र सुप्रसिद्ध सुबेदीलगायतका युवाहरू रहेका छन् । यसैगरी, युवा अभियन्ता सागर ढकाल, सोम शर्मा, अजय श्रेष्ठ, हेमराज थापा, विजय कँडेल, सुशान्त वैदिक, प्रज्वल पौडेल, निकुञ्ज भण्डारी, डम्बर साहु, अतीत बाबु रिजाल र रिवाज शर्मा आचार्यलगायतले पनि यस अभियानप्रति ऐक्यबद्धता जनाउँदै विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “जनआन्दोलन केवल राजनीतिक तरङ्ग होइन, यो हाम्रो देशको अन्तर्मनको प्रबल धड्कन हो । अन्याय, कुशासन र भ्रष्टाचारले थिचेको आत्माले फेरि एकपटक आफ्नो अस्तित्व सम्झाउँदै उभिएको क्षण यही हो ।” उनीहरूले जनआन्दोलनको आत्मालाई शहीदहरूको बलिदान र नागरिक चेतनाको एकताका रूपमा व्याख्या गरेका छन्, जसले नेपालको भविष्यलाई पुनः दिशानिर्देश गर्ने क्षण ल्याएको विश्वास व्यक्त गरेका छन् ।

मुख्य चार मागहरू

राष्ट्रपतिसँग तत्काल लिखित सम्झौता : जेन-जी जनआन्दोलनमार्फत प्रकट जनआकाङ्क्षालाई सम्बोधन नगरिए आन्दोलनका उपलब्धिहरू गुम्न सक्ने अवस्था रहेको भन्दै उनीहरूले आन्दोलनरत पक्षसँग राष्ट्रपतिबिच लिखित सम्झौताका लागि माग गरेका छन् ।

२) आन्दोलनकारीको सुरक्षा र दोषीमाथि कारबाही : आन्दोलनमा सहभागी भएकाहरूलाई फौजदारी कानुनको साँघुरो व्याख्या अन्तर्गत दमन गर्न नहुने माग गर्दै उनीहरूले सरकारले आन्दोलनकारीमाथिको कारबाही, गिरफ्तारी र त्रासपूर्ण कार्य तत्काल रोक्नुपर्ने बताएका छन् ।

३) नयाँ राजनीतिक शक्तिहरूबिच एकता : विज्ञप्तिमा वैकल्पिक शक्ति र नयाँ पुस्ताका दलहरूबीच आपसी हठ, अविश्वास र स्वार्थका कारण जनता पुनः पुरानै दलहरूको जालोमा अड्किएको उल्लेख छ । यस परिस्थितिको अन्त्यका लागि अब सबै नयाँ सोच र नेतृत्व एउटै साझा मोर्चामा आउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

४) विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार, बेजिल्ला मतदान र ‘नो भोट’ विकल्प : विदेशमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष मतदानको अधिकार दिन, प्रविधि-मैत्री बेजिल्ला मतदान प्रणाली लागू गर्न र ‘नो भोट’ अधिकार सुनिश्चित गर्न पनि जेन-जी युवाहरूले माग गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री