काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फेरि एक पटक सामाजिक सञ्जालमा चर्को आलोचनाको घेरामा छन् । आफ्नो मन नपरेको वा आफूलाई लागेको जुनसुकै विषयमा तत्काल प्रतिक्रिया जनाइहाल्ने उनको बानी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको कटाक्षले चर्चामा छ । श्रमदानको संस्कृति बसाएर विकास निर्माणमा लोकप्रिय बनेका साम्पाङ, यसैगरी सामाजिक सञ्जालमा व्यक्त गरिएका आफ्ना तीखा टिप्पणीका कारण आलोचित पनि छन् ।
हालै साम्पाङले थुनामा रहेका रवि लामिछानेमाथि व्यंग्य गर्दै लेखेका छन्, ‘नौ नौ वटा मुद्दा लागेर थुनामा बसेकाले, जसले विदेशी सेवा सुविधाका लागि नेपाली नागरिकता त्याग्यो, उसैले देश बनाउने र बचाउने रे भन्दा पत्याउनु हुन्छ ?’ रवि लामिछाने जेनजी आन्दोलनमा जेलबाट बाहिर निस्किएको विषयमा आन्दोलन छानबिन समितिले बयान लिएको प्रसंगलाई पनि उनले जोडेका छन् । ‘जेलमा रहेकाको बयान सरकारले लिन्छ कि अदालतले कुरा नबुझेको ?’ उनले थप कटाक्ष गरे ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरणलगायतका विभिन्न मुद्दामा रवि लामिछानेमाथि अदालतमा मुद्दा विचाराधीन छन् । जेनजी आन्दोलनले मूलधारका राजनीतिक दलहरूको सरकार ढलेपछि नयाँ राजनीतिक दल खोल्ने र चुनावको तयारी गर्ने क्रम तीव्र छ । यसै सन्दर्भमा मेयर साम्पाङले पनि ‘श्रम संस्कृति पार्टी’ दर्ता गरेका छन् ।
नयाँ दल तथा स्वतन्त्र व्यक्तिहरूबीच सहकार्य हुनुपर्ने दबाब बढिरहेका बेला साम्पाङ कहिले रविको त कहिले बालेन्द्र शाहको कटाक्ष गरिरहेका छन् । उनको यही प्रवृत्तिले गर्दा सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।




