काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा विवेकपूर्ण मताधिकार प्रयोग गर्नका लागि नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम दर्ता गर्न विशेष आह्वान गरेकी छन् । युवा वर्गलाई देश निर्माणको महत्त्वपूर्ण साझेदारका रूपमा लिँदै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई समृद्ध नेपालको आधार बनाउन सबैलाई आग्रह गरेकी हुन् ।
आज एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले नागरिकको अधिकार र कर्तव्य दुवैका लागि मतदाता परिचयपत्र अपरिहार्य रहेको स्मरण गराएकी हुन्। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक ३० गतेभित्र देशभर मतदाता नामावली संकलन कार्य जारी राखेको छ।
प्रधानमन्त्री कार्कीले युवाहरूलाई लक्षित गर्दै भनिन्, ‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउनका लागि, सबैभन्दा पहिला तपाईँ-हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ।’
उनले थपिन्, ‘तपाईँहरू आफैँ सही प्रतिनिधि बन्नुपर्छ। विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचयपत्र बनाऔँ।’




