लोकतन्त्र संवादमा बलियो हुन्छ, द्वन्द्वमा होइन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि संवाद अपरिहार्य रहेको बताएका छन् । उनले लोकतन्त्र द्वन्द्वमा नभई संवादका माध्यमबाट मात्र बलियो हुने स्पष्ट पारेका छन् ।

शीतल निवासमा आयोजित प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेशसभाका सभामुख र उपसभामुखहरूसँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका छन् ।

राष्ट्रपतिले जनताको आवाजलाई सम्बोधन गर्दै लोकतान्त्रिक आचरणलाई जीवन पद्धतिका रूपमा अपनाउन सकेमा संसदीय प्रणाली अझ सुदृढ हुनेमा जोड दिएका छन् । उनले युवा पुस्तामा देखिएको सुशासन र विकासको तीव्र चाहनालाई आत्मसात् गर्दै संविधानको रक्षा र लोकतन्त्रलाई थप उन्नत बनाउन सकिने बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संसदीय प्रणालीको मजबुती कुनै एक दल, एक सरकार वा एक नेतृत्वको मात्र नभई सामूहिक राष्ट्रिय दायित्व भएको बताएका छन् ।

नेपालको संविधानलाई केवल एउटा कानुनी दस्तावेज मात्र नभई यो हाम्रो सहयात्रा, सहमति र सामूहिक संकल्पको मार्गचित्र भएको भन्दै उनले यसको संरक्षणमा सबैको प्रतिबद्धता हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति पौडेलले असन्तुष्ट स्वरहरूलाई बेवास्ता गर्नुभन्दा पनि तिनलाई सुनेर समाधान खोज्ने नीति सबैमा हुनुपर्ने स्पष्ट पारेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री