टोकियो । जापानकी प्रधानमन्त्री ताकाची सानाईले प्रयोग गरेको कालो छालाको ब्यागको माग ह्वात्तै बढेको छ । ताकाचीले प्रयोग गरेको उक्त ब्याग सामाजिक सञ्जालमा चर्चामा आएपछि जापानको एक प्रसिद्ध छाला उत्पादन कम्पनी हमानो इंकमा सो ब्यागको माग ह्वात्तै बढेको हो ।
हमानो इंकले ‘ग्रेस डिलाइट टोट’ नामको सो ब्याग नागानोमा उत्पादन गर्ने गर्छ । २० जना कालिगढले हातले बनाउने सो ब्याग कामकाजी महिलाका लागि लक्षित छ । हमानो इंकको प्रधान कार्यालय टोकियोमा रहेको छ । १४५ वर्ष पुरानो सो कम्पनीले उत्पादन गर्ने सानाई ब्यागको तौल ७०० ग्राम रहेको छ भने यसमा ए फोर साइजका डकुमेन्टहरु अट्छन् । यसको मूल्य १ लाख ३६ सय ४ सय जापानी येन रहेको छ ।
तीन दशक अघिदेखि उत्पादन हुँदै आएको सो ब्याग आठ रङमा उपलब्ध छ । तर माग अत्यधिक बढेकाले कम्पनीले अहिले कालो रङको ब्यागका लागि मात्र अर्डर लिइरहेको छ । कम्पनीका अनुसार अहिले अर्डर गरिएका ब्यागहरु अर्को वर्षको जुलाई अन्तिममा मात्र डेलिभरी हुनेछन् ।
ताकाची अक्टोबरको अन्तिममा जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । उनले सो ब्याग बोकेको तस्विर सार्वजनिक भएपछि १८८० मा स्थापित सो कम्पनीमा अर्डर ह्वात्तै बढेको हो ।




