राहदानी सेवामा केही दिन समस्या, नयाँ प्रणालीको तयारी तीव्र

काठमाडौं । राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउन नयाँ राहदानी प्रणालीमा रूपान्तरणको अन्तिम चरणमा रहेको जनाएको छ। यो महत्त्वपूर्ण परिवर्तनको प्रक्रियामा केही दिन राहदानी सेवामा सामान्य समस्या आउन सक्ने विभागले स्पष्ट पारेको छ।

विभागका अनुसार, वि.सं. २०८२ फागुनदेखि पूर्ण रूपमा सञ्चालनमा आउने गरी नयाँ पासपोर्ट सेवा र यसका लागि आवश्यक पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। यसै क्रममा, नयाँ प्रणाली लागू गर्ने प्रक्रियाका कारण हाल सञ्चालनमा रहेका सेवाहरूमा केही सीमित प्रभाव देखिएको हो।

हाल केही नागरिकहरूलाई अपोइन्टमेन्ट स्लट खुल्न नसक्ने, आवेदन प्रक्रियामा ढिलाइ हुने तथा राहदानी वितरणमा समेत केही अवरोध देखिएको विभागले स्वीकार गरेको छ। यद्यपि, विभागले सेवा अवरुद्ध लामो समयसम्म नहुने प्रतिबद्धता व्यक्त गर्दै समस्या समाधानका उपायहरू तत्काल कार्यान्वयनमा ल्याइसकेको जनाएको छ।

सोही अनुरूप, आगामी मंसिर २ गतेदेखि बेलुका ४ बजेदेखि राति १० बजेसम्म दिनभरका अवरुद्ध ११,००० सम्मका अपोइन्टमेन्ट स्लटहरू क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यसबाट सेवाग्राहीले भोग्नुपरेको असुविधालाई कम गर्न मद्दत पुग्ने विभागको विश्वास छ।

राहदानी विभागले सेवा प्रभावित हुनुपरेको बाध्यताप्रति क्षमा याचना गर्दै नागरिकहरूलाई सहयोग र धैर्यताका लागि विशेष आग्रह गरेको छ। विभागले राहदानीसम्बन्धी कुनै पनि जानकारी, समस्या वा गुनासोका लागि विभागको आधिकारिक सम्पर्क माध्यममार्फत मात्र सम्पर्क गर्न अनुरोध गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री