इटहरीमा मेयरका प्रेस संयोजक पुरीले दिए राजीनामा

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । हालै सम्पन्न जेनजी आन्दोलनका कारण इटहरी उपमहानगरपालिकाले व्यहोरेको अकल्पनीय क्षति र आर्थिक भारलाई मुख्य कारण देखाउँदै पुरीले आइतवार राजीनामा बुझाएका हुन् ।

पुरीले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘जेनजी आन्दोलनका कारण इटहरी उपमहानगरपालिकाले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ । उपमहानगरको कार्यालय भवन नै जलेर खरानी भएको छ । सम्पूर्ण अभिलेखहरू नष्ट भएका छन् । सेवाका लागि प्रयोग गरिएका सवारी साधनहरूसमेत जलेर प्रयोगविहीन बनेका छन् ।’

उनले करोडौँको क्षति भएको यस अवस्थाले नगरको विकास र सेवा प्रवाहमा ठूलो चुनौती थपिएको उल्लेख गरेका छन् । यस्तो कठिन घडीमा नगरपालिकामाथि थप आर्थिक भार नपरोस् भन्ने आत्मभावनाले प्रेरित भई आफूले प्रेस संयोजक पदबाट राजीनामा दिने निर्णयमा पुगेको पुरीले बताएका छन् ।

उनले आगामी दिनमा पनि नगर र जनताप्रतिको आफ्नो प्रतिबद्धता यथावत रहने जिकिर गरेका छन् । इटहरीलाई पुनः उभ्याउन, ध्वस्त संरचना र प्रणालीलाई पुनर्जीवित गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । मेयर पौडेलले पुरीलाई वि.सं. २०७९ असोज ३१ गते प्रेस संयोजकमा नियुक्त गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री