काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्येको एक, एनआईसी एसिया बैंकले सुजित कुमार शाक्यलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सुम्पिएको छ । सोमबार बसेको एनआईसी एसिया बैंकको ७३६औँ सञ्चालक समितिको बैठकले शाक्यलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने ऐतिहासिक निर्णय गरेको हो ।
लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय र सफल मानिएका शाक्यको आगमनले बैंकमा नयाँ ऊर्जा र रणनीतिक दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ । सञ्चालक समितिले उनलाई आगामी ३० दिनभित्र कार्यभार सम्हाल्न निर्देशन दिएको छ ।
को हुन् सुजित कुमार शाक्य ?
नवनियुक्त सीईओ शाक्य नेपाली बैंकिङ वृत्तमा एक परिचित र सम्मानित नाम हो । विशेषगरी नबिल बैंकमा डेपुटी सीईओ तथा कामु सीईओको महत्वपूर्ण जिम्मेवारी सम्हालेर उनले आफ्नो नेतृत्व क्षमता र बैंकिङ दक्षता प्रमाणित गरिसकेका छन् ।
एनआईसी एसिया बैंकका पूर्वकर्मचारीसमेत रहेका शाक्यको यो घरफिर्ती हो । नबिल बैंकमा रहँदा तत्कालीन सीईओ अनिल कुमार शाहको बहिर्गमनपछि उनले कामु सीईओको भूमिका निर्वाह गरेका थिए । यद्यपि, त्यसबेला ज्ञानेन्द्र ढुंगाना सीईओमा नियुक्त भएपछि उनी डेपुटी सीईओमा कार्यरत थिए । ढुंगानाको बहिर्गमनपश्चात् मनोज कुमार ज्ञवाली सीईओ बनेका बेला पनि शाक्यले सिनियर डेपुटी सीईओको रुपमा आफ्नो अनुभव र योगदान दिइरहेका थिए ।
शाक्यको एनआईसी एसिया बैंकमा आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनको लामो र विविध बैंकिङ अनुभव, विशेषगरी नबिल बैंक जस्तो ठूलो संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गरेको पृष्ठभूमिले एनआईसी एसियालाई थप उचाइमा पुर्याउन सक्ने विश्वास गरिएको छ ।
उनको नेतृत्वमा एनआईसी एसियाले डिजिटल बैंकिङ, ग्राहक सेवा विस्तार र वित्तीय सुशासनमा थप प्रगति गर्ने अपेक्षा गरिएको छ । बजारमा आक्रामक उपस्थिति जनाइरहेको एनआईसी एसियाले शाक्यको कुशल नेतृत्वमा थप नवीन योजना र सेवाहरू ल्याउने सम्भावना प्रबल छ ।




