काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थापना गरेको ‘श्रम संस्कृति पार्टी’ लाई निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त गरेको छ । आयोगले आज पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरेसँगै साम्पाङको राजनीतिक यात्रामा नयाँ अध्याय थपिएको छ । मेयर साम्पाङ स्वयं निर्वाचन आयोग पुगेर पार्टी दर्ताको प्रमाणपत्र ग्रहण गरे ।
मेयर साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले आवश्यक प्रक्रिया पूरा गरी उनको पार्टीलाई राजनीतिक दलका रूपमा स्वीकार गरेको हो । यस मान्यतासँगै श्रम संस्कृति पार्टी आगामी फागुन २२ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न योग्य भएको छ ।
साम्पाङले धरानको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएर राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेका थिए । उनले ‘श्रम संस्कृति’ लाई आफ्नो अभियानको मूल मन्त्र बनाउँदै आएका छन् । अब उनले यसै सिद्धान्तमा आधारित भएर राष्ट्रिय राजनीतिमा समेत प्रभाव विस्तार गर्ने लक्ष्य राखेको देखिन्छ ।




