सेयर बजारमा उत्साहजनक वृद्धि: नेप्से ३० अंकले बढ्यो, ९ अर्ब २० करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली सेयर बजारमा दोहोरो अंकको उत्साहजनक वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले बढेर २६३१ को बिन्दुमा पुगेको छ । यस दिन बजारमा कारोबार रकम र कम्पनीहरूको सेयर मूल्य दुवैमा उल्लेख्य सुधार आएको छ ।

नेप्सेको तथ्यांकअनुसार, आइतबार कुल २०५ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ४२ कम्पनीको मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएन।

आज ३१९ कम्पनीका २ करोड कित्ता सेयर किनबेच हुँदा कुल ९ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका हिसाबले हिमालयन बैंक अग्रपंक्तिमा रह्यो, जसको १ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसैगरी, युनियन हाइड्रोपावरको ३४ करोड, बुटवल पावर कम्पनीको २५ करोड, राधी विद्युत कम्पनीको २४ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

६ कम्पनीमा सकारात्मक सर्किट:

आइतबार ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले १० प्रतिशतले वृद्धि हासिल गरेका छन्। सामुदायिक लघुवित्त, गुराँस फाइनान्स, पञ्चकन्या माई हाइड्रो, पिपुल्स पावर, तेह्रथुम पावर कम्पनी र गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। अर्कोतर्फ, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ।

उपसमूहगत प्रदर्शन:

आज व्यापार उपसमूहबाहेक अन्य सबै उपसमूहका सूचकहरू बढेका छन्। बैंकिङ उपसमूह ०.२९ प्रतिशत, डेभलपमेन्ट बैंक ०.९० प्रतिशत, फाइनान्स ५.१७ प्रतिशत, होटल तथा पर्यटन १.२० प्रतिशत, हाइड्रोपावर १.१८ प्रतिशत, लगानी ०.८० प्रतिशत, लाइफ इन्स्योरेन्स ४.३५ प्रतिशत, प्रशोधन तथा उत्पादन ०.९६ प्रतिशत, माइक्रोफाइनान्स १.३८ प्रतिशत, म्युचुअल फण्ड ०.१० प्रतिशत, नन-लाइफ इन्स्योरेन्स १.३३ प्रतिशत र अन्य उपसमूह १.२३ प्रतिशतले बढेका छन्। व्यापार समूह भने १.१० प्रतिशतले घटेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री