अवरोधबीच बन्चरेडाँडा पुगे मन्त्री घिसिङ (तस्बिरहरू)

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको चुलिँदो समस्या समाधानका लागि सहरी विकासमन्त्री कुलमान घिसिङले आज बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको स्थलगत अनुगमन गरेका छन् । स्थानीयवासीको अवरोधका कारण काठमाडौँको फोहोर उठ्न नसकेको र जनजीवन प्रभावित बनेका बेला मन्त्री घिसिङको यो अनुगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको अन्तिम गन्तव्य बन्दै आएको बन्चरेडाँडामा स्थानीय बासिन्दाले यसअघि सरकारसँग भएका सहमति र प्रतिबद्धताहरू कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका छन् । यसले गर्दा काठमाडौँका सडकहरूमा फोहोरको थुप्रो लाग्नुका साथै जनस्वास्थ्यमा समेत गम्भीर जोखिम बढेको छ ।

मन्त्री घिसिङले ल्यान्डफिल्ड साइटको निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूसँग छलफल गरेका छन् । फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान र स्थानीयका जायज माग सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । यसअघि पनि पटकपटक यस्ता सहमति र छलफलहरू हुँदै आए पनि कार्यान्वयनमा ढिलाइ हुँदा समस्या बल्झिने गरेको थियो ।

फोहोर व्यवस्थापन काठमाडौँ उपत्यकाका लागि सधैँ टाउको दुखाइको विषय बन्दै आएको छ । यसको दिगो र वैज्ञानिक समाधान नखोजिएसम्म यस्ता समस्याहरू दोहोरिरहने देखिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री