बिपी राजमार्ग तीन दिनदेखि अवरुद्ध, सुख्खा पहिरोले सास्ती

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकास्थित चारसयबेशी र माम्तीमा सडक माथिबाट खसेको सुख्खा पहिरोले बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ । लगातारको वर्षा र पहिरोका कारण राजमार्गमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चारसयबेशीमा विगत तीन दिनदेखि सुख्खा पहिरो खस्ने क्रम जारी छ । ‘निरन्तरको पहिरोले राजमार्गमा सवारीसाधन सञ्चालन गर्न असम्भव भएको छ । हामी अहिले डाइभर्सन निर्माण गर्ने कार्यमा जुटेका छौं,’ कार्कीले चने ।

 यसअघि खसेका लेदो र सामान्य पहिरोहरू पन्छाइसके पनि चारसयबेशीको पहिरो नियन्त्रणबाहिर रहेको उनले बताए । बिहीबारदेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी, घुमाउने, नाङसाल क्रसर, बोक्सीकुना र माम्ती लगायतका विभिन्न स्थानमा ढुङ्गा, लेदोसहितको पहिरो खसेको थियो । यसले गर्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको हो ।

बीपी राजमार्गमा पहिरो र सडक बग्ने समस्या कुनै नौलो होइन। गत असोजमा पनि माम्तीको तल्लो भेगमा सडक बगेर डाइभर्सन बनाइएको थियो । तर, उक्त डाइभर्सनमा पनि लेदोसहितको बाढी पसेर अवरुद्ध भएको थियो । गत वर्ष असोज १०, ११ र १२ गतेको वर्षाले पनि राजमार्गका विभिन्न स्थानमा सडक बगाएको थियो, जहाँ डाइभर्सन निर्माण गरेर यातायात सुचारु गरिएको थियो । तर, असोज १८ र १९ गतेको अविरल वर्षाले रोशी खोलामा आएको बाढीले ती डाइभर्सनहरूमा समेत क्षति पुर्याएको थियो ।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वी नेपाल तथा पूर्वी नेपालबाट काठमाडौं आवतजावत गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । अहिले तत्काल राजमार्ग खुल्ने सम्भावना कम देखिएकाले यात्रुहरूलाई धैर्य धारण गर्न र सुरक्षित वैकल्पिक मार्गको खोजी गर्न सुझाव दिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री