मध्यपहाडी लोकमार्गमा अटो दुर्घटनामा परी दुई जनाको मृत्यु, चालक फरार

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा शनिबार राति भएको एक भीषण अटो दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनापछि अटो चालक फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार राति लुकुमबाट ब्राहतालतर्फ गइरहेको रा१ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भूमे–१ निवासी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको रुकुमपूर्व अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अन्य घाइतेहरू २६ वर्षीया प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीया ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्तीको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनालगत्तै अटो चालक, भूमे–१ लुकुमका २९ वर्षीय जोते घर्ती घटनास्थलबाट फरार भएका छन् । उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काँक्री र जिल्ला प्रहरी कार्यालयबाट खटिएको २० जनाको संयुक्त टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप