काठमाडौँ । प्रधानमन्त्री शुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिएको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूको खण्डन गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सचिवालयले मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीको विशुद्ध अधिकार क्षेत्रको विषय भएको र यसमा कसैको दबाब वा प्रभाव नरहने स्पष्ट पारेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ ।’ सचिवालयले मन्त्री नियुक्ति वा बर्खास्ती प्रधानमन्त्रीको एकल क्षेत्राधिकार भएको र यस्ता निर्णयहरू कसैको दबाबमा नहुनेमा जोड दिएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री अर्यालको कार्यसम्पादनको प्रशंसा गरिएको छ । ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको सचिवालयले यस्तो संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र त्यसमा विश्वास नगर्न पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ। यस विज्ञप्तिले गृहमन्त्री अर्यालको पद यथावत् रहने र सरकार आफ्नो नीतिगत कार्यमा अडिग रहेको सन्देश दिएको छ ।





