प्रतिकूल मौसमले उडान प्रभावित : यात्रुहरू अलपत्र, दर्जनौं उडान डाइभर्ट

काठमाडौं । बिहीबार बिहानैदेखि देशका विभिन्न भागमा देखिएको प्रतिकूल मौसमका कारण हवाई उडान सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक दुवै उडानहरु प्रभावित हुँदा सयौं यात्रुहरु मर्कामा परेका छन् ।

विमानस्थल कार्यालयका अनुसार, अन्तर्राष्ट्रियतर्फ कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली डाइभर्ट गरिएको छ । दिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डियाको जहाजलाई लखनऊ डाइभर्ट गरिएको छ भने इन्डिगो एयरको दिल्लीबाट आएको जहाज पनि पुनः दिल्ली नै फर्काइएको छ ।

यसैगरी, आन्तरिक उडानतर्फ पनि मौसमको प्रभाव परेको छ । विशेषगरी लुक्लातर्फका सबै बिहानका निर्धारित उडानहरू रद्द गरिएका छन् । कम भिजिबिलिटी (दृश्यता) का कारण जहाजहरूले निर्वाध उडान-अवतरण गर्न नसकेको विमानस्थलले जनाएको छ ।

मौसममा सुधार नआएसम्म उडान तालिका अझै प्रभावित हुने सम्भावना रहेको भन्दै विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानको अवस्थाबारे एयरलाइन्स कम्पनीसँग निरन्तर सम्पर्कमा रहन अनुरोध गरेको छ । अचानकको उडान प्रभावितले गर्दा बिहानैदेखि विमानस्थलमा यात्रुहरुको भिडभाड बढेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री