काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य र सुरक्षा बढाउन सुरु गरेको हाइ मास्ट बत्ती जडान परियोजना तिहारअघि नै सम्पन्न हुने भएको छ । महानगरका प्रमुख ६२ चोकमा बत्ती जडानको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागले जनाएको छ ।
विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले दिएको जानकारीअनुसार सहरका कुल ७० चोकमध्ये पहिलो चरणमा ६२ चोकमा बत्ती जडान भइरहेको छ । उनले भने, ‘६२ चोकमध्ये २१ चोकमा १२.५ मिटर अग्ला पोल जडान गरिएको छ भने ४१ चोकमा १६ मिटर अग्ला पोलहरू ठड्याइएका छन् । यी पोलहरूमा क्रमशः ६ र ८ वटा बत्तीहरू जडान गरिँदैछ ।’
महत्वाकांक्षी परियोजनाको लागत अनुमान करिब ९ करोड ९९ लाख रुपैयाँ रहेको थियो । सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरले जनाएको छ । निर्माण पक्षसँग २०८१ पुस २३ गते भएको सम्झौताअनुसार काम २०८२ पुस ३० गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि तिहारलाई लक्षित गरी कामलाई तीव्रता दिइएको छ ।
महाशाखा प्रमुख नेपालीले भने, ‘तिहारको उल्लासमा सहर झन् उज्यालो बनोस् भन्ने उद्देश्यले कामलाई तीव्र बनाइएको छ ।’
जडान गरिएका यी हाइ मास्ट बत्तीहरू १ हजार वाट क्षमताका छन् र सफ्टवेयर प्रणालीमा आधारित छन् । यसले आवश्यकताअनुसार बत्तीको प्रकाशलाई चर्को वा मधुरो बनाउन सकिने सुविधा प्रदान गर्छ । यसले सहरको रात्रिकालीन सुरक्षा र सौन्दर्य दुवैमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।




