काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए ।
दुर्घटनामा बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको छ । घाइतेहरूको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले बताए । घटना आइतबार दिउँसो भएको हो ।




