आरबिवि मर्चेन्ट बैंकिङको साधारणसभाले गर्‍यो ४० करोड नगद लाभांश पारित

काठमाडौं । आरबिवि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस सभाले सेयरधनीहरूका लागि ४० करोड रुपैयाँ नगद लाभांश पारित गरेको छ, जुन कम्पनीको २० प्रतिशत वितरणयोग्य मुनाफाको प्रतिनिधित्व गर्छ ।

कम्पनीकी अध्यक्ष सरस्वती अधिकारीले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित भएको जानकारी दिइन् । उनले प्रस्तुत आर्थिक विवरण, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन भएको र सेयरधनीहरूलाई वितरणयोग्य मुनाफाबाट २० प्रतिशतले हुने रकम ४० करोड रुपैयाँ (कर सहित) नगद लाभांशका रूपमा वितरण गर्ने प्रस्तावलाई सभाले पारित गरेको बताइन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिसहित सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, र सामूहिक लगानी कोष योजना व्यवस्थापकको रूपमा विविध सेवाहरू प्रदान गर्दै आएको छ ।

सभाले सन् २०८१/८२ को बाह्य लेखापरीक्षकका रूपमा सिन्हा एण्डको चार्टर्ड एकाउन्टेन्टका सिए सञ्जयकुमार सिन्हा कायस्थको नियुक्ति अनुमोदन गरेको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

विशेष प्रस्ताव अन्तर्गत कम्पनीका सञ्चालक तथा स्वतन्त्र सञ्चालकहरूको नियुक्तिलाई पनि सभाले अनुमोदन गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रतिनिधि तथा उप-कार्यकारी अधिकृत विनयरमण पौडेलको नेतृत्वमा १०० प्रतिशत सेयरधनीहरूको उपस्थितिमा सम्पन्न भएको यस सभाले पूर्ण वैधानिकता प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र विशेष अतिथि रूपमा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री