काठमाडौं । नेपालको सर्वाधिक रुचाइएको शिवम् ब्रान्डको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी श्री शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाज्यूको अध्यक्षतामा सम्पन्न उक्त सभाले शेयरधनीहरूका लागि महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयरधनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ (रु. ११,६०,००,०००) बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव एकमतले पारित गरेको छ । साथै, सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्त गर्ने लगायतका सबै प्रस्तावहरूलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
शिवम् होल्डिङ्स लिमिटेडले विगतका वर्षहरूमा झैं यो वर्ष पनि शेयरधनीहरूलाई लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७८/०७९ देखि निरन्तर चौथो पटक लाभांश वितरण गर्दै आएको यस कम्पनीले शेयरधनीहरूको विश्वास जित्न सफल भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।
कम्पनीले आफ्नो विस्तारको योजनाअन्तर्गत २० प्रतिशत बराबरको १ अर्ब १६ करोड रुपैयाँ मूल्यका शेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (SEBON) मा निवेदन दर्ता गरिसकेको छ । हाल स्वीकृतिको प्रतिक्षामा रहेको यो प्रस्तावले कम्पनीको बजार पहुँच अझ बढाउने अपेक्षा गरिएको छ ।
नेपालको सिमेन्ट उद्योगमा एक अग्रणी नाम
श्री शिवम् होल्डिङ्स लिमिटेड, नेपालको सबैभन्दा ठूलो उत्पादन क्षमता भएको शिवम् सिमेन्ट प्रा. लि. मा मुख्य लगानीकर्ता हो । शिवम् सिमेन्टमा ३० प्रतिशत नेपाली लगानी (श्री शिवम् होल्डिङ्स लिमिटेड) र ७० प्रतिशत चिनियाँ लगानी रहेको छ । गण्डकी प्रदेश, पूर्वी नवलपरासी, विनयी त्रिवेणी गाउँपालिका, सर्दीमा अवस्थित यो अत्याधुनिक उद्योगले दैनिक ६,००० मेट्रिक टन क्लिंकर र सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ ।
यसका साथै, उद्योगमा प्रयोग भएको मेसिनरीबाट उत्पन्न वेस्ट हीटबाट करिब १२ मेगावाट विद्युत् शक्ति उत्पादन गरी आफैं प्रयोग गर्ने नवीन व्यवस्था पनि रहेको छ, जसले ऊर्जा दक्षतामा महत्त्वपूर्ण योगदान पुर्याएको छ । उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा रही पछिल्ला पाँच वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ ।
कम्पनीले यस सफलताका लागि आफ्ना शेयरधनीहरू, साझेदारहरू र सरोकारवालाहरूलाई निरन्तर विश्वास, समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ । शिवम् होल्डिङ्स लिमिटेड नेपालको आर्थिक विकासमा एक प्रमुख साझेदारको रूपमा स्थापित हुँदै अगाडि बढेको छ ।




