ऊर्जा दक्षता प्रवर्धन गर्ने उद्योगलाई अनुदान वितरण

काठमाडौं । दिगो औद्योगिक विकासको लक्ष्यलाई मूर्तरूप दिँदै राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम (REEE Project) – नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत ऊर्जा दक्षताका उपायहरू सफलतापूर्वक लागू गरेका दोस्रो चरणका उद्योगहरूलाई ४ करोडभन्दा बढीको आर्थिक अनुदान वितरण गरेको छ। यो पहलले नेपालको जलवायु लक्ष्य र दिगो आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आज आयोजित एक विशेष कार्यक्रममा, कृषि प्रशोधन, औषधि, र डेरी उद्योगसहित १३ वटा विभिन्न क्षेत्रका उद्योगहरूलाई यो अनुदान प्रदान गरियो। विस्तृत ऊर्जा ‘अडिट’ मार्फत पहिचान गरिएका ऊर्जा बचत उपायहरूको सफल कार्यान्वयनपछि यो महत्त्वपूर्ण कदम चालिएको हो। यी उपायहरूबाट वार्षिक १२ लाख ३५ हजार ५४४ किलोवाट घण्टा ऊर्जा बचत भई वार्षिक ४ करोड ७७ लाख ५८ हजार १६ भन्दा बढीको खर्च कटौतीमा योगदान पुग्ने अनुमान गरिएको छ।

एजी हेल्थ इन्डस्ट्रिज प्रालिलाई १० मिलियनको कीर्तिमानी अनुदान

यस चरणमा सबैभन्दा ठूलो अनुदान, १० मिलियन रुपैयाँ, एजी हेल्थ इन्डस्ट्रिज प्रालिले प्राप्त गरेको छ। कम्पनीले म्यानुअल प्याकेजिङ मेसिनको प्रतिस्थापनलगायत दुई प्रमुख ऊर्जा दक्षता उपायहरू लागू गरेको छ। कम्पनीको आफ्नै ४० मिलियनभन्दा बढीको लगानीबाट वार्षिक १० मिलियनभन्दा बढी बचत हुने अपेक्षा गरिएको छ, जसले ऊर्जा दक्षता नवप्रवर्तनको एक बलियो व्यावसायिक उदाहरण प्रस्तुत गरेको छ।

उद्योगीहरू उत्साहित, ऊर्जा दक्षता अब बाध्यता होइन आवश्यकता

सीताराम गोकुल मिल्क्स काठमाडौँ प्रालिका प्रबन्ध निर्देशक सुमित केडियाले ऊर्जा खर्च कुल सञ्चालन लागतको करिब ३०–३५ प्रतिशत रहेको उल्लेख गर्दै यस्ता पहलहरूले उद्योगहरूलाई ‘चेतना’ भन्दा ‘वास्तविक क्रियाकलाप’ तर्फ लैजान सहयोग पुर्‍याउने बताए।

एरो फार्मास्युटिकल्स प्रालिका प्रबन्ध निर्देशक डा. पङ्कज तिवारीले ऊर्जा अडिट प्रक्रियालाई ‘प्रकाशमय’ भन्दै यसले ऊर्जाको अधिकतम उपयोग गर्ने नयाँ तरिकाहरू र अन्तर्राष्ट्रिय सुरक्षा तथा मापदण्डहरूको पालना गर्न सहयोग पुर्‍याएको जानकारी दिए।

युरोपेली सङ्घ, नेपालका रञ्जन प्रकाश श्रेष्ठले परियोजनाको सहयोगपछि पनि ऊर्जा दक्षतासम्बन्धी आफ्नो प्रयास निरन्तर जारी राख्न उद्योगीहरूलाई प्रेरित गरेको बताए।

राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनालले उद्योगहरूलाई राष्ट्रिय प्रयासमा योगदान पुर्‍याएकामा प्रशंसा गर्दै यस किसिमको सहयोगबाट नेपालको ऊर्जा भविष्यमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे।

दिगो औद्योगिक अभ्यास र हरित भविष्यका लागि महत्त्वपूर्ण कदम

परियोजनाका लागि ग्रिन ऊर्जावित्त विशेषज्ञ राजीवमङ्गल जोशीले यो पहलले नेपालको दिगो औद्योगिक अभ्यासलाई प्रवर्धन गर्न, वातावरणीय मापदण्डहरू पालना गर्न तथा मर्यादित श्रम अभ्यासहरूलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

युरोपेली सङ्घ तथा जर्मन सरकारको सह-आर्थिक सहयोगमा, रिप-ग्रिन परियोजनाअन्तर्गत सञ्चालन भइरहेको यस अनुदान कार्यक्रमले उच्च प्रभावकारी ऊर्जा दक्षता पहलहरूलाई कार्यान्वयन गर्न आंशिक आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री