कामना सेवा विकास बैंकमा सुदिप आचार्यको नेतृत्व, नयाँ अध्यायको सुरुवात

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष मंगलबार आयोजित एक विशेष समारोहमा आचार्यले सपथ लिए । यससँगै आचार्यले बैंकको १९ औं सञ्चालक समितिको नेतृत्व सम्हालेका छन्, जसले बैंकको आगामी दिशा निर्देश गर्नेछ ।

गत शुक्रबार सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले आचार्यलाई सञ्चालकमा निर्वाचित गरेको थियो। सोही दिन बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकसमक्ष पद तथा गोपनियताको सपथ लिनुपर्ने प्रावधानअनुरुप यो समारोह आयोजना गरिएको हो।

सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो। बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना, विकास बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलगायत अन्य प्रमुख व्यक्तित्वहरूको उपस्थितिमा यो महत्वपूर्ण कार्य सम्पन्न भएको छ।

बैंकको वार्षिक साधारणसभाबाट संस्थापक समूहअन्तर्गत सुदिप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी निर्विरोध सञ्चालकमा निर्वाचित भएका थिए। त्यसैगरी, सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा पनि निर्विरोध सञ्चालकमा चयन भएका थिए । यो सञ्चालक समितिले आगामी दिनमा कामना सेवा विकास बैंकलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री