केपी ओलीको अडान- ‘जबसम्म सक्छु, नेतृत्व छाड्दिनँ’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी नेतृत्व नछाड्ने दृढ संकेत गरेका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला ओलीले भर्चुअल माध्यमबाट जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै आफ्नो अडान स्पष्ट पारेका हुन् ।

एक नेताका अनुसार, ओलीले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टीको नेतृत्वबाट नहट्ने बताएका छन् । गत भदौ २३ र २४ को ‘जेन-जी’ विद्रोहका कारण सत्ताच्युत भएपछि ओली हाल भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा बसेर पार्टीका गतिविधि सञ्चालन गरिरहेका छन् ।

सचिवालय र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा मंगलबार ओलीले गण्डकी प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग भर्चुअल संवाद गरेका थिए। उनले प्रदेश इन्चार्ज र जिल्ला अध्यक्षहरूलाई छुट्टाछुट्टै सम्बोधन गरिरहेका छन् । एमालेको सचिवालय बैठक यही असोज २४ र २५ गतेका लागि बोलाइएको छ भने केन्द्रीय कमिटी बैठक असोज २७, २८ र २९ गते बस्दैछ ।

भर्चुअल सम्बोधनका क्रममा ओलीले आफू, एमाले र देशविरुद्ध नै षड्यन्त्र भएको दाबी ग रे। उनले भदौ २३ र २४ को जेन–जी आन्दोलनलाई पनि यसै षड्यन्त्रको उपज भएको आरोप लगाए । ‘पार्टीको शिर निहुरन कहिले पनि दिन्नँ, सक्रियताको हिसाबले दिन्नँ, इमानले दिन्नँ, विचारले दिन्नँ,’ ओलीको स्पष्ट सन्देश थियो ।

उनले आफूलाई सत्ताबाट हट्न बाध्य गराइए पनि देश र जनताको पक्षमा अविच्छिन्न रूपमा क्रियाशील रहेको बताउँदै पार्टी, आन्दोलन, विचार र दृष्टिकोणको शिर झुक्न नदिने दृढता व्यक्त गरे । ‘कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ। अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसुस हुन दिन्नँ,’ उनले थपे ।

अध्यक्ष ओलीले शारीरिक रूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने समेत बताए । ‘जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोड्दिन्छु,’ उनले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री