मेयर बालेनबारे समाचार आएपछि पत्रकारलाई ज्यान मार्ने धम्की

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरेमाथि ज्यान मार्ने धम्की आएको घटनाप्रति गम्भीर आपत्ति व्यक्त गरेको छ । शाखाले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा गरेको हो ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसम्बन्धी समाचार प्रसारण भएपश्चात् मेयर शाहका भिनाजु बताउने सुवास शाहले पत्रकार घिमिरेलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका थिए । शाखाका सचिव रमेशकुमार बोहोराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो कुनै व्यक्तिगत रिसइबी नभई स्वतन्त्र पत्रकारिता र अभिव्यक्तिको अधिकारमाथिको सुनियोजित हमला हो । यस कार्यले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको आधारभूत मर्मलाई गम्भीर चुनौती दिएको छ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘समाचारप्रति असन्तुष्टि भएमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था हुँदाहुँदै धम्कीपूर्ण र आपराधिक व्यवहार गर्नु प्रेस आचारसंहिता तथा प्रचलित कानुनको ठाडो उल्लंघन हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री