काठमाडौं । नेपालको अग्रणी व्यावसायिक समूह चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत यो महत्त्वपूर्ण घोषणा गरेका हुन् ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ६ दर्जनभन्दा बढी नागरिकले सहादत प्राप्त गरेका थिए । यस मानवीय क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै चौधरी ग्रुपले शहीद परिवारको घाउमा मलम लगाउने प्रयास गरेको छ ।
प्रबन्ध निर्देशक चौधरीले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौं। यो केवल हाम्रो वाचामात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो । हामी सँगै उभिनेछौं, पुनर्निर्माण गर्नेछौं, आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौं ।’
रोजगारी प्रक्रियाका लागि सीजीको विशेष टोलीले सम्पूर्ण शहीद परिवारलाई सम्पर्क गरिरहेको जानकारी पनि चौधरीले दिएका छन् । यससम्बन्धी थप जानकारीका लागि सीजीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।
आन्दोलनबाट सीजीलाई ५ अर्बको क्षति
एकतर्फ चौधरी ग्रुपले शहीद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ भने अर्कोतर्फ जेनजी आन्दोलनका क्रममा सीजीले ठूलो व्यावसायिक क्षति बेहोरेको थियो । आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण समूहलाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको जनाइएको छ ।
काठमाडौं सतुङ्गलस्थित सीजीको इलेक्ट्रोनिक्स कारखाना र गोदाममा भएको आगजनीबाट भवन, मेसिनरी, यन्त्र उपकरण, व्यावसायिक मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन् । सोही परिसरमा रहेको सिजी नेटको सर्भर र डाटा सेन्टरमा समेत क्षति पुगेको थियो ।
राजधानीका अन्य स्थानमा रहेका समूहका प्रतिष्ठानहरू पनि आन्दोलनको चपेटामा परेका थिए । थापाथलीमा रहेको सिजी मोटर्सको शोरुम र हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा तोडफोड तथा आगजनी गरिएको थियो । अध्यक्ष विनोद चौधरीको रविभवनस्थित निजी निवास, बर्दघाटमा रहेको निवास तथा कार्यालयमा समेत तोडफोड, लुटपाट र आगजनी भएको थियो। काठमाडौं उपत्यकाका ललितपुर, विशालनगरलगायत क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स सामानका शोरुममा पनि ठूलो क्षति पुगेको थियो ।
चितवन भरतपुरमा रहेको सीजी ल्यान्डमार्क व्यावसायिक भवन तथा पसलहरूमा लुटपाट तथा तोडफोड गरियो भने जोरपाटीमा रहेको सीजी एजुकेसनको चाँदबाग स्कुलमा पनि लुटपाट, चोरी, तोडफोड र आगजनी भएको थियो । विद्यार्थी ओसारपसार गर्न प्रयोग गरिने ६ वटा गाडीमा समेत आन्दोलनकारीले आगो लगाएका थिए ।




