शिक्षामन्त्री पुनको अल्टिमेटम- शिक्षकको तलब रोक्ने पालिकालाई कारबाही गर्ने चेतावनी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूको तलब रोकेका पालिकाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । दशैं-तिहारको अवसरमा पनि शिक्षकहरूले तलब नपाएको गुनासो आएपछि मन्त्री पुनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् ।

यसअघि उनले प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए, तर चौतर्फी विरोध र जानकारी सच्याउनुपर्ने आवाज उठे पछि उनले आफ्नो स्टाटस सच्याएका हुन् । शिक्षकहरूको तलब प्रधानाध्यापकले नभई पालिकाले दिने व्यवस्था रहेको जानकारी नभएको भन्दै मन्त्री पुनको आलोचना भएको थियो । यसपछि उनले आफ्नो पूर्ववत् सूचना सच्याउँदै अब पालिकालाई कारबाही गर्ने बताएका छन् ।

मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित पालिकाहरूमा निकासा गरिसकेको छ । उनले केही पालिकाहरूले जानाजान शिक्षकहरूको तलब रोकेको भन्दै आपत्ति जनाएका छन् ।

‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरूलाई सूचना : दशैं तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरूको गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएका शिक्षकहरूको तलब निकासा नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ,’ मन्त्री पुनले फेसबुकमा लेखेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री