काठमाडौं । देशव्यापी रूपमा फैलिएको ‘जेनजी’ प्रदर्शनका क्रममा हालसम्म ३६ जनाको ज्यान गएको छ भने २८४ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले देशभरका अस्पतालहरूबाट प्राप्त तथ्याङ्कका आधारमा यो जानकारी गराउनुभएको हो ।
मन्त्रालयका अनुसार, प्रदर्शनका क्रममा कुल एक हजार ७७१ जना घाइते भएका थिए, जसमध्ये एक हजार ३७९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । घाइतेहरूको उपचार विभिन्न अस्पतालहरूमा निःशुल्क भइरहेको पनि डा. देवकोटाले बताउनुभयो ।
हाल देशभरका ५२ वटा अस्पतालमा घाइतेहरूको उपचार जारी छ । सचिव डा. देवकोटाले उपलब्ध गराउनुभएको विवरणअनुसार, निजामती कर्मचारी अस्पतालमा २३ जना, ट्रमा सेन्टरमा ३२ जना, त्रिवि शिक्षण अस्पतालमा २५ जना र काठमाडौँ मेडिकल कलेजमा ३५ जना घाइतेको उपचार भइरहेको छ । यसैगरी, नेपाल पुलिस अस्पतालमा २८ जना र झापाको बिएन्डसी अस्पतालमा ५३ जनाको उपचार भइरहेको छ ।
‘जेनजी’ प्रदर्शनले देशको स्वास्थ्य क्षेत्रमा पनि ठूलो चुनौती थपेको छ । मन्त्रालयले सबै घाइतेहरूको यथाशीघ्र र उचित उपचारका लागि आवश्यक समन्वय गरिरहेको जनाएको छ ।



