गगनको अर्को सन्देश- हामी खरानीबाट उठ्छौं, धुलोमा पुगेको कांग्रेसलाई बदल्छौं (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकले अहिले कठिन परिस्थिति भोगिरहेको र देशसँगै पार्टीलाई पनि ‘हिलिङ’ को आवश्यकता रहेको बताएका छन् । भाद्र २३ र २४ गते भएका अकल्पनीय घटनाहरूले देश र समाजमा गहिरो चोट पुर्याएको भन्दै उनले पार्टीको तर्फबाट माफी माग्दै घटनाको छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार बिहान भिडिओ सन्देश जारी गर्दै उनले २३ गते भएको घटनालाई ‘अकल्पनीय’ संज्ञा दिएका छन् । भाद्र २४ गते भएको क्षतिको यकिन आकलन गर्न नसकिने अवस्था रहेको बताउँदै उनले पार्टीका सम्पदा, कार्यालय, र सयौं कार्यकर्ताका घर तथा निजी सम्पत्तिमा छानी-छानी आगजनी र तोडफोड भएकोमा गहिरो दुःख व्यक्त गरे । उनले कांग्रेस पार्टी सरकारमा नभए पनि पार्टीको अनुहारमा दाग लागेको भन्दै ऐना पुछेर नहुने, आफ्नै दाग पुछ्नुपर्ने बताए । उनले भाद्र २३ र २४ का सबै अमानवीय र क्रूर घटनाको छानबिन गरी दोषी जोसुकै भए पनि कानूनको दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा जोड दिए । ‘यस दुःखमा पर्नुभएका सबै साथीहरूलाई म यस बेलामा सम्झन चाहन्छु,’ उनले भने ।

महामन्त्री थापाले २३ र २४ गतेका घटनाले धेरैका मनहरू फाटेको भन्दै त्यसलाई जोड्ने काम कांग्रेसले गर्नुपर्ने बताए । खरबौंको सम्पत्ति क्षति भएको र पुनर्निर्माणको आवश्यकता औंल्याउँदै उनले २०६०-६१ सालको माओवादी द्वन्द्वको स्मरण गराए । उनले माओवादीले आफ्ना धेरै कार्यकर्ता मारेको, सम्पत्ति लुटेको र घरबारविहीन बनाएको भए पनि कांग्रेसकै पहलमा घाउ चोट बिर्सेर माओवादीसँग हात मिलाउँदै देशलाई हिंसाबाट शान्तिको बाटोमा ल्याएको बताए । ‘फेरि एकपटक नेपाललाई यस्तै एउटा हिलिङ चाहिएको छ, सबैलाई जोड्ने एउटा पहलकदमी चाहिएको छ,’ थापाले भने ।

थापाले आन्दोलनकारी युवाहरूले राखेका मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देश अगाडि बढ्न सक्ने बताए । अन्तरिम सरकार बनाउने कुरा साँझसम्म टुंगिन सक्ने संकेत गर्दै उनले युवाले चाहेको व्यक्तिको नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेस तयार रहेको स्पष्ट पारे । यो सरकारले निर्वाचन गराउने, घटनाहरूको छानबिन गर्ने र पुनर्निर्माणको नेतृत्व गर्ने उनको भनाइ थियो । तर, यो सरकार २०७२ को संविधानसँग जोडिनुपर्नेमा उनले जोड दिए, अन्यथा समाधान स्थायी नहुने उनको तर्क थियो । उनले २०४६ सालपछिका सबैको सम्पत्ति छानबिन गर्ने, संवैधानिक निकायमा सही नियुक्ति गर्ने जस्ता मागलाई सम्बोधन गर्नुपर्ने बताए ।

पार्टी शुद्धीकरण र पुनर्संरचनाको संकल्प
महामन्त्री थापाले देशलाई अगाडि बढाउनुअघि नेपाली कांग्रेस आफैं सुध्रिनुपर्ने आवश्यकता औंल्याए । ‘नेपाली कांग्रेसको पुनर्गठन अनिवार्य छ,’ उनले भने, ‘आज नागरिकको विश्वास हामीसँग टुटेको कुरालाई हामीले स्वीकार गर्नुपर्छ । किन टुट्यो? यसको हामीले समीक्षा गर्नुपर्छ ।’

थापाले विगतमा मधेस आन्दोलन र माओवादी द्वन्द्वका बेला कार्यकर्ताका घर जलाइएको र धेरैले ज्यान गुमाएको स्मरण गरे । कोभिड महामारीका बेला वा भूकम्पका बेला आफ्ना दुःख बिर्सेर अरुलाई सहयोग गरेको जस्तै भावना लिएर अगाडि बढ्नुपर्ने बताए । ‘हामी सक्छौं हेर्नुहोस् । हामी यो पटक पनि धुलोमा पुगेका छौं । क्र्यास भएको छ हाम्रो । टुक्रा-टुक्रा धूजा-धूजा भएको छ । खरानी बनाइएको छ । तर उठ्छौं हामी खरानीबाट,’ थापाले हुँदै भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री