सरकार पक्षिय भनेका मानिसहरूबाट धम्की आयो : अभिनेता गिरी

काठमाडौँ । अभिनेता दीपक राज गिरीले जेन–जी आन्दोलनलाई समर्थन गर्दा आफूलाई सरकार पक्षबाट धम्की आएको बताएका छन् । उनले शुक्रबाट दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो जानकारी दिएका हुन् ।

उनले सरकार पक्षबाट ‘जेन-जीलाई उकास्ने तॅ ?, कलाकार भएर जेन-जी तिर लाग्ने ?, एक एक हिसाब राखिन्छ’ भन्दै धम्की आएको बताएका छन् ।

उनले ती फोन कलहरू मध्य केहीलाई रेकर्ड समेत गरेको बताएका छन् । उनले लेखेका छन् ‘ जेन -जी आन्दोलनमा सबै पक्षको केही न केही गल्ती भएको छ, तर सरकार पक्षीय भनेका केही मानिसहरू यसको आडमा आफ्नो गल्ती महसुस गर्न छोडेर एक एक लाई छोडिने छैन , बदला लिइनेछ भनेर स्ट्याटस नै ठोक्न थालेको देखे, मलाइ आएको कलको र म्यासेजको कुरा त गरिहाले ।’

उनले आफूले मात्र नभएर सबै जसो कलाकारहरूले जेनजी आन्दोलनलाई समर्थन गरेको बताएका छन् । उनले आफूले केहीको लोभले त्यस आन्दोलनलाई समर्थन नगरी जेनजीले उठाएका सुशासन र भ्रष्टाचारको मुद्दामा समर्थन मात्र जनाएको बताएका छन् ।

उनले जेनजी आन्दोलनलाई समर्थन गर्नु स्वभाबिच भएको भन्दै सरकारलाई दबाब दिनु अपराध हो भने आफूबाट अपराध भएको समेत स्विकारेका छन् ।

पढ्नुहोस् अभिनेता गिरीको पूरा स्ट्याटस :

मलाइ आएको धम्किको कुरा ……
अस्तिको दिन बाट केहि मानिसहरूले मलाइ पनि धम्काउन थालेका छन् ! केहिले inbox मा त केहिले त कल नै गरेर !
उनिहरूको भनाइ थियो Gen -z लाइ उकास्ने तॅ? कलाकार भएर gen-z तिर लाग्ने ? एक एक हिसाब राखिन्छ, ती कलहरू मध्य केहि त रेकर्ड पनि गरेर राखेको छू !
आन्दोलनको पहिलो दिन भ्रष्टाचार बिरूद्दको आन्दोलनलाइ धैरै कलाकार लगायत मैले पनि शुभकामना दिदै भने यो शान्तिपूर्ण होस !!
दोस्रो दिन जब स्कूल ,कलेज जाने साना साना बालकहरूको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखियो त्यो देखे पछि को नै चूप लागेर बस्न सक्यो होला र ? भोली पल्ट म मात्रै होइन मेरा लगभग सबै कलाकार साथिहरूले स्ट्याटस लेख्यौ , प्र. म . ज्यू लाइ थप violence रोक्नका लागि राजिनामा दिन अनुरोध पनि गर्यौ !कति जना त सडकमा नै गयौ , लगभग त्यतिबेला धेरै अभिभावकहरू आफ्नै बच्चा मरेको पिडाबोध गरेर सडकमा आइसकेका थिए , राजिनामा आउन ढिलो भैरहेको थियो ! त्यसपछि हिसा झन भडकियो ,यस्को फाइदा अनेक तत्वले लिन थाले , घुसपैठ भयो , लुटपाट गर्ने , आगो लगाउने मानिसहरू सक्रिय भएको देखियो अनौठौ भिडमा सरकार बिरोधी पार्टीका कार्यकर्ताको बाहुल्यता धेरै देखियो ! त्यसको प्रमाण त अहिले सामाजिकहरूमा देखिन थालि सकेको पनि छ ।
राजिनामा आएपछि पनि नरोकिएको त्यो बबंडर बिरूद्द हामिले लगातार सामाजिक संजालमा पोष्ट गर्न थाल्यौ ! त्बिध्वस रोक्न कलाकारहरू र केहि राजनीतिकर्मीहरू मिलेर लगातार अनुरोध गरिरह्यौ , थुप्रै सकारात्मक पोष्टहरू गर्यौ तर त्यो रोकिएन, Gen Z को त्यो आन्दोलनले अर्कै मोड लियो , स्वार्थ समूह छिरे पछि जे भयो त्यो हामि सबैले देख्यौ , gen -Z आन्दोलन सफल त भयो तर त्यो बिध्वंसले कोहि खुशि भएनन, मन भारी भैरह्यो ! सायद कोहि नेपाली निदाएनन होला त्यो रात…. यसमा सबै पक्षको केहि न केहि गल्ति भएको छ, तर सरकार पक्षिय भनेका केहि मानिसहरू यस्को आडमा आफ्नो गल्ति महसूस गर्न छोडेर एक एक लाइ छोडिने छैन , बदला लिइनेछ भनेर स्ट्याटस नै ठोक्न थालेको देखे, मलाइ आएको कलको र म्यासेजको कुरा त गरिहाले ,
जहां सम्म मेरो कुरा छ , २०४६ सालको ठूलो आन्दोलनमा तपाइहरू संगै आन्दोलनमा सडकमा नै थिए म ,
६२/६३ मा पनि आफ्नो पेशा नै धरापमा राखेर तपाइहरूकै माग लाइ समर्थन गरेर तपाइहरूकै कित्तामा उभिएकै हो ! हरेक खाले परिबर्तनको सबालमा तपाइहरू संगै उभिएर केहि राजनीतिक लाभ नलिइकन सकारात्मक भूमिका नै निभाएको हूं! अहिले पनि केहि लोभले यो आन्दोलन लाइ समर्थन गरेको होइन , भाइ बहिनीहरू ले शुसासन र भ्रष्टाचारको मुद्दा उठाउनुभो त्यसमा समर्थन जनाइयो , जुन स्वभाबिकै थियो ,सरकारलाइ दवाव पनि दिइयो यदि यो गर्नु अपराध हो भने म बाट पनि अपराध भएकै छ !
अस्तिको आन्दोलनमा पनि सबै दोषि मात्रै दन्डित भएनन कति निर्दोष मान्छेहरू पनि victim हुन पुगेको देखेको छू , यदि तपाइहरूले धम्कि दिए जस्तै भयो भने म पनि त्यो त्यहि सूचिमा थपिनेछू भनेर चित्त बुझाउनुको मेरो अर्को बिकल्प छैन ,
होइन भने यहां बाट सबैले आ आफ्नो गल्ति महसूस गरेर क्रान्ति प्रतिक्रान्ति र बदलाका कुरा छोडेर एकजूट भइ पुन : मूलूक निर्माणको बारेमा सोच्नु पर्ने हो कि? जय आमा नेपाल !
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री