काठमाडौं । हालैको आगजनीबाट गम्भीर क्षति पुगेको नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा आज पार्टीका कार्यकर्ताहरूले पार्टीको झण्डा र ब्यानर राखेरका छन् । जेनजी प्रदर्शनकारीहरूको आन्दोलनका क्रममा भएको आगजनीले पार्टी मुख्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।
कार्यालय भवनमा तोडफोड भएकाे हुँदा झ्यालहरू भाँचिएका छन् । यति धेरै क्षति भए पनि पार्टीका सदस्यहरू परिसरमा भेला भई पार्टीको विशिष्ट झण्डा र संस्थापक नेताहरूको तस्विरसहितको फ्रेम मुख्य सिँढीमा राखेर भग्नावशेषका बीचमा अस्थायी श्रद्धाञ्जलि स्थल बनाएका थिए ।
झण्डासँगै राखिएको एक प्रमुख ब्यानरमा संस्थापक नेता बीपी कोइरालाको तस्विर थियो, जसमा ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौँ, हामी उठ्ने छौँ’ भन्ने दृढ सन्देश लेखिएको थियो ।
स्थलमा खिचिएको भिडियोमा नेविसंघका नेता थमराज उपाध्यायले भेलालाई सम्बोधन गर्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको सामूहिक जिम्मेवारीमा जोड दिएका छन् । उपाध्यायले ‘यो क्षतविक्षत भवनको पुनर्निर्माण गर्नु प्रत्येक नेपाली कांग्रेसका सदस्य र नागरिकहरूको जिम्मेवारी हो’ भन्दै पुनर्निर्माण प्रयासमा व्यापक सहभागिताका लागि आह्वान गरेका थिए ।




