काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साहले निजी क्षेत्रलाई आफ्नो प्रदेशमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री साहले निजी क्षेत्रको लगानी लुम्बिनी प्रदेशको बाँकेबाट पश्चिम जान नसकेकोमा गुनासो व्यक्त गरे ।
उनले निजी क्षेत्रका ठूला लगानीहरू बाँकेसम्म मात्रै सीमित भएको भन्दै लगानी सुदूरपश्चिमसम्म नपुग्नुको कारणबारे प्रश्न उठाए । “सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा भिन्नता देखिएको छ,” उनले भने, “निजी क्षेत्र सुदूरपश्चिमसम्म पुग्न नसक्नुको कारण के हो भन्ने पहिचान गर्न खोजेका छौँ ।”
मुख्यमन्त्री साहले सुदूरपश्चिममा लगानीका लागि आकर्षक अवसरहरू रहेको र प्रदेश सरकारले निजी क्षेत्रलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले जग्गा, सडक, विद्युत लगायतका पूर्वाधार प्रदेश सरकारले उपलब्ध गराउने जानकारी दिँदै निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्दैछ । सोही सम्मेलनको तयारीस्वरुप प्रदेश सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । यस सम्मेलनले सुदूरपश्चिममा लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री साहले सुदूरपश्चिममा पर्यटन, कृषि, जलविद्युत लगायतका क्षेत्रमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै निजी क्षेत्रको सहभागिताले मात्रै प्रदेशको आर्थिक विकासलाई गति दिन सकिने बताए । उनले लगानीकर्ताहरूलाई प्रदेश सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्ने र आवश्यक नीतिगत सुधारका लागि समेत तयार रहेको आश्वासन दिए ।




